बालुवाटार बैठक : चुनावका लागि सहयोग गर्न प्रधानमन्त्रीको आग्रह, दलहरूले के भने ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार निर्वाचन गराउन तत्पर रहेकाले त्यसमा सहयोग गर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छन् । शुक्रबार बालुवाटारमा भएको सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले आफूहरू निर्वाचन गराउन तत्पर रहेकाले सहयोग गर्न आग्रह गरेको बैठकपछि नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिए । “निर्वाचनभन्दा अर्को विकल्प छैन । र, त्यो निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,” कार्कीको भनाइ उद्धृत गर्दै ज्वालाले भने ।

ज्वालाका अनुसार दलहरूले भने सरकारलाई प्रस्ट रूपमा चुनावी सरकार भएकाले चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । “चुनावमा अर्जुनदृष्टि हुनुपर्‍यो । अध्यादेश ल्याउने लगायतका धेरै खाले काम गर्नु भएन भनेर सुझाव दिएका छौँ,” उनले भने ।

केही आशंकाका बीचमा पनि राजनीतिक दलहरू चुनावमा जान तयार रहेको बताएका ज्वालाले जानकारी दिए ।

बैठकमा राजनीतिक दलहरूका साथसाथै निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । बैठकमा सुरक्षा निकायका प्रमुखखरूले सुरक्षा अवस्थाका बारेमा बताएका थिए । त्यसक्रममा उनीहरूले सुरक्षा दिन आफूहरू तयार रहेको बताएका थिए ।

त्यस्तै निर्वाचन आयोगका अधिकारीहरूले निर्वाचन तयारीका बारेमा बताएका ज्वालाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *