यमरी बनाएर ८० टेकेकी अम्बिकाको चाखलाग्दो अनुभव

काठमाडौं। मंसिर शुक्ल पूर्णिमाको दिन मनाइने ‘यःमरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा उपत्यकाका नेवार समूदायका लागि केवल परम्परा होइन, उनीहरूको सांस्कृतिक पहिचान, कृषि–आधारित जीवनशैली, धार्मिक आस्था र सामूदायिक एकतासँग जोडिएको अद्वितीय पर्व हो।

धान भित्रने, कृषकको मेहनतको प्रतिफल प्राप्त हुने र परिवार तथा समुदाय एकै ठाउँमा भेला भएर समृद्धिको कामना गर्ने यो पर्व शताब्दीयौँ पुरानो इतिहास बोकेर आज पनि उतिकै उत्साहका साथ मनाइँदै आएको छ।

यस दिनलाई धान्य पूर्णिमा पनि भनिन्छ, किनकि यसै पूर्णिमाबाट परम्परागत रूपमा धान काट्ने, भित्र्याउने र नयाँ चामल सेवन गर्ने विधि शुरू हुन्छ। काठमाडौं उपत्यकामा बिहानैदेखि घरघरमा नयाँ धानको चामल कुट्ने, पिठो बनाउने र त्यसैबाट यःमरी बनाउने चहलपहल देखिन्छ । सुगन्धित चामल, तातो बाफ र चाकुको मीठास मिसिएको यःमरीको गन्धले धेरैलाई आकर्षित गर्छ।

नेवार समुदायमा यःमरी स्वाद मात्र होइन, शुभता, समृद्धि र देवप्रतिको आस्थासँग जोडिएको सांस्कृतिक प्रतीक हो। चामलको पिठो गोलो आकारमा बनाइन्छ, भित्र चाकु, तिल, दूधको खुवा वा अहिलेका केही घरहरूमा आधुनिक स्वादका लागि घिउ-काजु, मखाना आदि समेत प्रयोग गर्न थालिएको छ। तर परम्परागत स्वादकै यःमरी अझै सबैको प्रमुख रोजाइमा छ।

यःमरीको टुप्पो लामो बनाउने चलन यसको सबैभन्दा विशिष्ट विशेषताहरू मध्ये एक हो । यःमरीको चुचो जति लामो, आयु पनि त्यति नै दीर्घ र शुभ हुन्छ भन्ने जन विश्वास पनि छ।

त्यसैले घरका दिदी-बहिनीहरू, बाजेबज्यैदेखि लिएर सानातिनाहरू समेत यःमरिको टुप्पो अझै लामो र सुन्दर बनाउने प्रयासमा रमाइरहेका हुन्छन्।
उमेरले ८० टेकेकी काठमाडौंकी अम्बिका महर्जन सिंहलाई आजपनि यमरी बनाउन खुबै जाँगर चल्छ। बाबुबाजेको पालादेखिनै यमरी बनाउने र परिवारका सबै सदस्यहरु बसेर सामूहिक रुपमा खाने परम्परा आजपनि जीवित राखेको उनी सुनाउँछिन्।

यमरी बनाउने विधि र प्रक्रियामा फरकपन आएकोमा उनलाई आश्चर्य चकित पनि लागेको छ। उनका अनुसार, पहिले-पहिले यःमरी बनाउन पिठोलाई भित्र खाली राख्न हुँदैन भन्ने कडा मान्यता थियो।

त्यसैले कम्तीमा पाँचवटा चामलका दाना राखेर नै पकाइन्थ्यो। महिनौँ मिहिनेत गरेर उब्जाइएको धानले परिवारलाई समृद्धि प्रदान गरोस भन्ने कामनाका लागि राखिने पाँच दानालाई शुभको प्रतीकका रूपमा लिइन्थ्यो।

आधुनिक समयमा चाकु, खुवा, तिल राखेर बनाइने यमरी जनप्रिय बन्दै गएको छ। चाकुको सुगन्ध र खुवाको मिठासले यसलाई नेवार समुदाय मात्र होइन, अन्य जातजातिका मानिसका लागि पनि मनपर्ने परिकार बनाइदिएको छ। धेरैले यःमरी पुन्हिको अवसरमा घरमै बनाउँछन् भने होटल–रेष्टुरेन्टमा पनि विशेष परिकारका रूपमा यसको माग बढेको छ।

यसको अर्को विशेष सामाजिक पक्ष भनेको बालबालिकालाई यमरी लगाइदिने परम्परा पनि छ । नेवार परिवारमा बच्चा दुई वर्ष र चार वर्ष पुग्दा, तथा कतिपय घर-घरमा १२ वर्ष पुग्दा, बच्चाको स्वास्थ्य, दीर्घायु र सुखसमृद्धिका लागि विशेष यमरी पकाइदिन्छन् र त्यसको माला बनाएर बच्चाहरुलाई लगाइदिने गरिन्छ।

धान भित्र्याउने परम्परासँग जोडिएको अर्को चलन भनेको यमरीलाई धान राख्ने ठाउँमा चढाउने हो । पहिले भकारीमा चढाइन्थ्यो, अहिले भकारी नभए पनि धान राख्ने कोठा वा भण्डारण भाँडामा राखिन्छ ।

यमरी पूर्णिमाको दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, नेवार संगीत, नाचगान र समुदायिक भोज-भतेर पनि हुन्छ।
‘यःमरी महोत्सव’ वा ‘यःमरी मेला’ आयोजना गर्ने चलन बढ्दो छ। यसले नयाँ पुस्तालाई परम्परा सिकाउने मात्र होइन, सांस्कृतिक पर्यटन प्रवद्र्धनमा पनि योगदान दिएको छ।

तर परम्परागत मान्यताले केही सीमा पनि तोकेको छ । यःमरीमा मासु राखेर पकाउनु अशुभ मानिन्छ । अम्बिका महर्जन सिंहका अनुसार, ‘हामीले आजसम्म मासु राखेर पकाएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *