साम्राज्यवादीबाट देश बचाउन ३ करोड जनताको ‘राष्ट्रिय फौज’ बनाउनुपर्छ : प्रचण्ड

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर मजदुर आन्दोलनको उद्गमस्थल भएको बताएका छन् । उनले शान्ति प्रक्रियाका महत्त्वपूर्ण व्यक्तित्व भन्दै नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको स्मरण गरे ।

लोकतान्त्रिक शक्तिसँग पनि सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । वामपन्थी मिलेर मात्र हालका चुनौती तथा समस्या समाधान हुन नसक्ने उनले बताए ।

सोमबार (मंसिर १५) विराटनगरमा पार्टीको एकता सन्देशसभामा उनले ‘जेनजी’ आन्दोलनका क्रममा देश नै रहला कि नरहला भन्ने त्रासबीच समय बितेको पनि उल्लेख गरे ।

‘‘त्यस बेला राजदरबार सरसफाइ गरेर राजा ल्याउने रे भन्ने हल्ला चल्यो । सेनाले अब शासन लिन्छन् अरे, राष्ट्रपतिलाई राजीनामा दिन भनिएको छ रे, यस्तैयस्तै तर हामीलाई सेनाबाट बोलावट भई राष्ट्रपतिसँगको छलफलमा गयौँ,’’ उनले भने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सिफारिसमा नै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको भन्ने पत्र राष्ट्रपति रामचन्द्र पौडेलबाट सर्वोच्च अदालतमा पठाइएपछि ‘हाहुका भरमा सरकार’ बनेको भन्नेहरूको झुट उदांगो भएको उनले बताए ।

अन्तरिम सरकार बनाउन आफूहरूले सहयोग गरेको उनले जिकिर गरे । राष्ट्र अझै पनि संकटमुक्त हुन नसकेको उनले औँल्याए ।

प्रचण्डले सेनाले चाहेर पनि ऐतिहासिक धरोहर बचाउन नसकेको र केही घण्टा राज्यविहीनताको अवस्था आएको बताए । साम्राज्यवादीबाट देश बचाउन तीन करोड नेपाली नै ‘फौज’ बन्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘‘ठूलाठूला शक्तिसँग लड्न एटोमिक तागत पनि छैन, जसलाई फौजी वा आधुनिक हतियारले पछार्न सक्ने परिस्थितिमा नेपालीहरू छैन । तीन करोड नेपाली नै मर्न तयार भई फौज हुने हो भने कुनै पनि तागतले हराउन सक्दैन ।’’

गिरिजाप्रसाद कोइराला र आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नयाँ युगको सुरुआत भएको उनले स्मरण गरे ।

उनले नेपाली जनता नै जागरुक भएर जरुरी पर्दा जस्तोसुकै बलिदान गर्न सक्ने फौजका रूपमा तयार हुनुपर्नेमा उनले जोड दिए । कम्युनिस्ट एकता र विभाजन व्यहोरिएको भन्दै उनले योपटक त्यस्तो नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *