नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा(फेसबुक) लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा गरेको संवाद कार्यक्रममा बोल्दै उनले नेपालमा व्यवसाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रो देशको आफ्नो स्वाधिनता छ । रेगुलेशन अत्यन्तै आवश्यक छ । राष्ट्रिय स्वाधिनतको हिसाबले नेपालमा व्यवसाय गर्न आउने सबैले नेपालमा दर्ता हुनुपर्छ कि पर्दैन ? नेपालको संविधान मान्न पर्छ कि पर्दैन ? नेपालको कानुन मान्न पर्छ कि पर्दैन ? उनीहरू नेपालको संविधान मान्दिन भन्छ, नेपालको कानुन मान्दिनँ भन्छ, बन्दै गरेको कानुनको पनि डिफेम गर्छ । तेरो देशको सरकार गरिब सरकार, सानो देश, भ्रष्टाचार हुने देश भन्छ । हाम्रो आफ्नो स्वाधिनता छैन ? आफ्नो स्वाभिमान छैन ? त्यसकारण यो आज परिस्थितिले गर्दा मैले बोल्नुपर्यो । कुनै न कुनै दिन फेरि यो बन्द गर्नुपर्छ । त्यो आएन भने फेरि रेगुलेसन गर्नुपर्छ । रेगुलेसन त अत्यन्तै आवश्यक छ नि । नेपालीले नेपालमा व्यवसाय गर्दा चिया पसल खोल्दा त सिडियो कार्यालयमा दर्ता गर्नुपर्छ, उसको कम्पनी, व्यवसाय । त्यत्रो अर्बौं रुपैयाँ व्यवसाय गर्ने त्यो कम्पनी यहाँ दर्ता गर्न पर्दैन भनेर कुन नेपालीले भन्छ ? पर्दैन, पर्छ नि ।’

गुरुङ सञ्चारमन्त्री भएको बेलामा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको थियो । तर जेनजी आन्दोलनका कारण फेरि ती सञ्जालहरू खुला भएका थिए ।

साथै उनले सबै मान्छेले राजनीति नै नबुझेको समेत बताए । उनले धेरैले चुनाव हुन्छ, मन्त्री बन्छ, सकिन्छ यति हो राजनीति भनेर बुझेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *