बाजुरा । नेकपा एमाले बाजुराले सर्वसम्मत प्रतिनिधी छनोट गरेको छ। पार्टीको ११ औं महाधिवेशनका लागि एमाले बाजुराले जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन गरेको हो।
यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनका लागि बाजुराबाट १६ जना प्रतिनिधी छनोट भएका छन्।
खुला, महिला, दलित र युवा कोटा गरी जम्मा १६ जना प्रतिनिधी सर्वसम्मत छानिएका हुन्।प्रतिनिधी छनोटमा खुला तर्फ ७ जना छन्। जसमा लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल भरत थापा, मनलाल विष्ट, मेघराज शाही छन्।
महिला तर्फ ४ जना छन्। जसमा सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र बसन्ती गुरुङ। दलित तर्फको ४ जनाको कोटामा काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्कीलाई छनोट गरिएको हो।
त्यस्तै ४० वर्ष मुनिको युवा कोटामा प्रभावशाली युवा नेता नरेश रोकाया सर्वसम्मत बनेका हुन्। रोकाया अनेरास्ववियुको अध्यक्ष हुन्। उमेर हदका कारण रोकिएका थिए। पार्टीका नेता कार्यकर्ता विच आपसी समन्वय,सहकार्य र विश्वासका कारण सहज रुपमा नेतृत्व छनोट भएको एमाले बाजुराका सचिव काँसि विकले बताए।
पार्टीले सर्वसम्मत चयनलाई आगामी राजनीतिक गतिविधिहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। बाजुरा बाट कर्णबहादुर थापा स्थायी कमिटी, लालबहादुर थापा, सहदेव बोगटी, दयालबहादुर शाही केन्द्रीय सदस्य छन्। भने बसुन्धरा रोकाया आयोग सदस्य हुन्। बाजुराकै कालीबहादुर शाही प्रदेश कमिटी उपाध्यक्ष छन्। उनी प्रदेश कमिटीबाट प्रतिनिधी छानिने छन्।
नेकपा एमालेको आसन्न महाधिवेशनलाई लिएर आज देशभर प्रतिनिधि चयन गरिँदैछ। केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत छानिसकेका छन्। एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० बाट प्रतिनिधि चुनिदै छन्।
झण्डै २२ सय प्रतिनिधि रहने महाधिवेशनका लागि यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ।
