हर्क साङ्पाङले भने -म आफैं प्रधानमन्त्री हुन राजनीतिमा आएको हूँ

ताप्लेजुङ । श्रम संस्कृतिका पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङ्पाङले आफैं प्रधानमन्त्री बन्न राजनीतिमा आएको बताएका छन् । उनले विदेशीको इशारामा नचली आफैं प्रधानमन्त्री हुन राजनीतिमा थालेको बताए।

आफ्नो पार्टीमा नेता नहुने र सबै नेता तथा कार्यकर्ता श्रमदाता हुने उनको भनाइ थियो । श्रम संस्कृति पार्टीको ताप्लेजुङ घोषणासभालाई बिहीबार फुङलिङमा सम्बोधन गर्दै साङ्पाङले पार्टीको प्रमुख एजेण्डा निर्वाचित प्रमुख कार्यकारी हुने घोषणा गरे ।

पार्टीमा बोल्न पाइने र ह्वीप नलाग्ने तर बोलेको कुरा गलत भए पार्टीमा एकदिन पनि बस्ने हक नहुने भन्दै साङ्पाङले कसैको ‘वाद’को पछि नलाग्न आग्रह गरे ।

प्रत्यक्ष निर्वाचन कार्यकारी हुनेभएपछि पार्टी र दल आवश्यक समेत नहुने बताएका उनले अहिलेको परिवेशमा राजनीतिक अवस्था सुधार गर्न दल खोलेर अग्रसर हुनु परेको बताए ।

उनले भने, ‘विद्यमान राजनीतिको फोहोर सफा गर्न मात्र मैले दल खोलेको हुँ।’ एमसीसी पास गर्नेहरुलाई विदेशी दलालको संज्ञा दिएका उनले ‘देश बेचेर सुकिला मुकिला हुने भन्दा श्रम गरेर झत्तो भएको व्यक्ति’नै मान सम्मानको लायक हुने बताए ।

उर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको पार्टीप्रति संकेत गर्दै साङ्पाङले भने, ‘एउटा पार्टी बत्तिमात्रै बाल्छु भनेर आएको छ, विदेशी ऋण लिएर, विदेशीको चाकरी गरेर बत्ति बाल्नुभन्दा आफ्नो स्वाभिमान ठाडो हुनेगरी टुकी बालेर बस्नु नै देशभक्त हो।’

उनले कुलमानप्रति कटाक्ष गर्दै एमसीसी पास गर्ने एक सुत्रपात भएको आरोप लगाए । ‘केही पहिचानवादी भनेर आफूलाई चित्रित गर्नेहरु समेत कुलमानसँग गएका छन्’ डकेन्द्रसिंह थेगिम सहितका नेताहरुलाई संकेत गर्दै उनले प्रतिप्रश्न गरे ‘माटोलाई चिनेकै छैन के को पहिचान ?’

आफ्नो पार्टीको झण्डा नहुने र साथमा औजार हुने उनको भनाई थियो । पार्टीले पत्रकार, शिक्षक र कर्मचारीलाई पार्टी सदस्यता नदिने उनले बताए । विद्यालयको पढाई बढीमा तीन दिनमा सीमित गर्ने र चार दिन व्यवहारिक शिक्षा केन्द्रित बहुउपयोगी सिकाई गराउने उनले बताए ।

कार्यालय समेत तीन दिन मात्र खोल्ने पार्टीको विशेषता उनले सुनाए । कार्यालय पूर्णतया: पेपरलेस गराउने उनको दावी छ । आफ्नो पार्टीमा आउनेलाई माटो छोएर शपथ खुवाएका उनले ‘तीन करोड नेपालीको ६ करोड हात, चलाउनुपर्छ एकैसाथ’ भन्ने नारा दिँदै ७ दिनमध्ये ६ दिन पेटका लागि र एकदिन देशका लागि श्रमदान गर्नु पार्टी कार्यकर्ताको कर्तव्य हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *