विश्वप्रकाशले देउवालाई भने– निर्वाचनअघि महाधिवेशन नगरिए महामन्त्रीबाट राजीनामा दिन्छु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामाको चेतावनी दिएका छन् ।

महामन्त्री शर्माले आइतबार दिउँसो १२ बजेदेखि झन्डै एक घण्टा भेट गरेका थिए ।

त्यसक्रममा शर्माले विशेष महाधिवेशन वा विधानले विशेष महाधिवेशन भनेको अवधिभित्र नियमित महाधिवेशन नगरे राजीनामा दिने बताएका हुन् ।

उनले केन्द्रीय समिति बैठक बन्धक बनेर निर्णय दिन नसकिरहेको भन्दै सोमबारको बैठक सार्न नहुने पनि बताएका थिए ।

“पुस २७ अघि विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यता छ । यसलाई केन्द्रीय समिति वा अरु कुनै तहको निर्णयले काट्न सक्दैन,” शर्माको भनाइ उद्धृत गर्दै शर्मा निकट स्रोतले भन्यो, “यसलाई टार्ने भनेको त्यही अवधिभित्र नियमित महाधिवेशनबाट हो ।”

उनले नियमित वा विशेष दुबै महाधिवेशन नहुने अवस्थामा विधान मिचेको हुने भन्दै त्यस्तो अवस्थामा पदमा नरहने बताएका हुन् ।  अहिलेको केन्द्रीय समिति बैठकबाट विशेष वा नियमित कुनै पनि महाधिवेशनमा नजाने निर्णय भए आफूलाई पूर्वमहामन्त्री बनाइदिन आग्रह गरेका थिए ।

“विशेष वा नियमित महाधिवेशन हुँदैन भने म यो पदमा रहन्न,” उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “म तत्कालैको मितिबाट लागू हुनेगरी राजीनामा दिन्छु, मलाई पूर्वमहामन्त्री बनाइदिनुहोला !”

उनले त्यसो भन्दा सभापति देउवाले त्यस्तो निर्णय नगर्न आग्रह गरेको शर्माले बताएका थिए ।

“कहाँ हुन्छ भाइहरुले त्यस्तो गर्न मिल्दैन, पार्टी मिलाएर लैजानुपर्छ,” शर्माले देउवाको भनाइबारे नियकटहरुलाई भनेका थिए ।  देउवाले शर्मासँग विशेष वा नियमित महाधिवेशन हुनेबारे कुनै संकेत भने दिएका छैनन् ।

उनले ‘पार्टी मिलाएर लैजानुपर्छ’ भन्ने बाहेक महामन्त्रीलाई राजीनामा दिने होइन भन्ने सन्देश मात्र दिएको स्रोतले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *