काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संयोजक भएरको पोखरा विमानस्थलको प्रतिवेदन प्रश्नको घेरामा रहेको बताएका छन् ।
आज (आइतबार) सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले समितिको अघिल्लो बैठकको निर्णयअनुसार उक्त उपसमितिमा स्वार्थको द्वन्द्व हुने व्यक्ति सहभागी भएको बताएका हुन् । समितिको अघिल्लो बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यायनमन्त्री भइसकेको भन्दै योगेशलाई भैरहवा विमानस्थलको अध्ययन गर्न बनेको समितिको संयोजक बस्नबाट प्रश्न उठाइएको थियो । आफ्नोविरुद्धमा प्रश्न उठेसँगै योगेशले उक्त समितिमा नबस्ने बताएका थिए । पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारबारे अनुसन्धान गर्न बनेको समितिमा पूर्व पर्यटनमन्त्री प्रेम आले सदस्य थिए । उनै आलेतर्फलक्षित गर्दै नेता भट्टराईले सो समितिको प्रतिवेदन शंकाको घेरामा रहेको बताएका हुन् ।
‘तपाईँको प्रतिवेदन प्रश्नको घेरामा छ । किनकी उपसमितिमा जो–जो सदस्य बसेर बनाउनु भयो, पछिल्लो बैठकको निर्णयअनुसार त समितिमा उहाँहरु त बस्न मिल्दै थियो । उहाँहरु बसेर बनाउनु भएको छ, त्यसकारण स्वार्थको द्वन्द्व त्यहाँ प्रकट भइराखेको छ । कुन सीमासम्म जाने, को व्यक्तिको लागि यो नियम लागू हुन्छ ? को व्यक्तिको लागि हुँदैन ? यो त हामीले बुझ्नुपर्यो,’– उनले भने, ‘भैरहवाको रिपोर्टको लागि सभापतिज्यूले जसलाई संयोजक तोक्नुहुन्छ । उहाँले अध्यायन गर्नुहुन्छ । त्यसमा मलाई केही भन्नु छैन । किनकी प्रश्न उठिसकेपछि मलाई बस्न ठीक लागेन । मैले छाड्छु भनेकै हुँ । तर, त्यही प्रकृति पोखरामा छ । पोखराको रिपोर्ट तपाईँले कसरी स्वार्थबाट तटस्थ मान्नुहुन्छ ? यदि भैरहवामा मलाई तपाईँले स्वीकार गर्नुहुन्न भने पोखरामा त्यही प्रकृतिको सदस्यलाई स्वीकार गरेर यो रिपोर्ट कसरी हुन्छ ? कसका निम्ति लागू हुन्छ यो नियम ? अनुहार हेरेर लागू हुन्छ ? ठूलो कराउँदा लागू हुन्छ ? कसका निम्ति लागू हुन्छ ? त्यसकारण यो रिपोर्ट प्रारम्भिक हिसाबमै स्वार्थ प्रेरित छ भनेर कसैले भन्यो भने अस्तिको बैठकको निर्णयअनुसार त्यो लगत हुँदैन । त्यो सही हुन्छ ।’