बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ । आज (कात्तिक २७) उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सर्वोच्चमा रहेको मूल अभियोगको मिसिल झिकाउन आदेश गरेको हो ।
न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासमा भएको सुनुवाइका क्रममा रविको पक्षबाट मधेस प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झा, डा. नारायण कँडेल र महेन्द्र पाण्डेले बहस गरेका थिए ।
रविले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । उनले बिगोबराबरको बैंक ग्यारेन्टी बुझाए पनि यसअघि जिल्ला अदालत रूपन्देहीले रिहा नगरेपछि उनी उच्च अदालत गएका हुन् ।
रवि तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक थिए । छवि तत्कालीन गोर्खा मिडियाका सञ्चालक थिए ।
