काठमाडाैँ। हामी नेपालका संयोजक सुदन गुरुङले वर्तमान सरकारको नेतृत्वमा रहेको गृह मन्त्रालयले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार सञ्चार माध्यमसँग कुरा गर्दै गुरुङले आफूहरूले अनुहार परिवर्तन गर्न मात्र नभई पुरानो व्यवस्था परिवर्तनका लागि आन्दोलन गरेको बताए।
गृहमन्त्रीको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै उनले भनेका छन्, ‘गृहमन्त्रीले काम गर्न नसक्ने हो भने आफ्नो विज्ञता अनुसार काम गर्नुपर्छ। अपेक्षा अनुसारको काम पनि छैन र राजीनामा पनि नआए विकल्प सोच्नुपर्छ।’
गुरुङले थपे, ‘जनताको मन जित्नु पर्ने र राम्रो काम गर्नु पर्ने हो। तर त्यो अपेक्षा अनुसारको काम हुन सकेको छैन।’
गुरुङले सुरुमा गृह मन्त्रालयले राम्रो काम गरेको भए पनि पछि गृहको संगठनले सहयोग नगर्दा काम गर्न नसकेको बताएका छन्। सुदन गुरुङले यो सरकार आफ्नो मात्रै नभई सबै जेनजी र जनताको सरकार भएकोले सोही अनुसार काम हुनुपर्ने बताएका छन्।
जेनजी आन्दोलनले सक्षम व्यक्तिलाई उचित स्थानमा लैजान र राम्रो काम गर्नका लागि आवाज उठाएको उनको भनाइ छ।
