अधिवेशनबाट आउने कांग्रेसको नीति र नेतृत्व मात्र निर्वाचन लड्न योग्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिने मात्र नभई यसलाई सफल पनि बनाउने बताएका छन् ।

सोमबार बिहान सामाजिक संजालमार्फत महामन्त्री थापाले यसमा कसैले पनि द्विविधा राख्नु नहुने बताएका हुन् । उनले फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउने र संविधानलाई सही मार्गमा ल्याउने भएकाले यसमा कुनै अलमल नभएको बताए ।

उनले भनेका छन्, ‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन। नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ।’

उनले अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान कायमै रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो। अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन। नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *