प्रदेश सभाको बैठक सडकमा नै डाकेर भएपनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौंः सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा पूर्व सांसद सिके राउतले मधेश प्रदेशलाई स्वायत्तता घोषणा गर्नुपर्ने माग गरेका छन् । उनले अब मधेश प्रदेशसभाबाट नै मधेशलाई स्वायत्तता घोषणा गर्न ढिलाई गर्न नहुने भनेका छन् । आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गर्नुपर्ने उनको भनाई छ ।

राउतले फेशबुकमार्फत लेखेका छन्-

मधेश प्रदेश सभाको बैठकबाट मधेश प्रदेशको स्वाययत्ता घोषणा गरौं, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं। डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौं। संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर सपथग्रहण गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोधसाध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं। अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको माग बमोजिम बनेको छ। त्यसैले हामीले पनि मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश सभाको दुई तिहाईको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ।

५४% जनसंख्या भएको मधेश मुठ्ठीभर नेपाली शासकको जागिर होइन, उनीहरूले भीखजस्तो दिने, अनि हामीले लिइराख्ने। उनीहरूले चलखेल गरिराख्ने, हामीले टुलुटुलु हेरिराख्ने। मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ। सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, अख्तियार, प्रहरी, सचिवसहितका कर्मचारी लगाएर ५४% जनसंख्या भएको मधेशलाई एक हुन नदिने, छिन्नभिन्न गरिराख्ने, दमन गरिराख्ने र सधैं गुलाम बनाइराख्ने षड्यन्त्र विरुद्ध पूर्ण स्वायत्तताको आन्दोलनको उद्घोष जरूरी छ। नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो। जय स्वराज !

Leave a Reply

Your email address will not be published. Required fields are marked *