युवा संघलाई ओलीको निर्देशन : स्वीकृति नदिए पनि सडकमा उत्रिनू

काठमाडाैँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै आन्दोलन गर्न सरकारको इजाजत आवश्यक नपर्ने बताएका छन्।

राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै उनले जेनजी दिदी हुनुहुन्छ कि बहिनी भनी व्यङ्ग्यात्मक टिप्पणी गर्दै सरकारले कानुनसम्मत आदेश दिनुपर्नेमा जोड दिइन्।

‘जेनजी दिदी हुनुहुन्छ कि बहिनी, उहाँलाई पनि भन्न चाहन्छु, आफ्नो मातहतलाई आदेश दिँदा कानुनसम्मत आदेश दिनुस्,’ अध्यक्ष ओलीले भने।

उनले संविधानले दिएका मौलिक हकअधिकार आफूहरूले लडेर ल्याएको भन्दै सरकारको आदेशमा ती अधिकार नछोड्ने स्पष्ट पारे।

‘हामीले लडेर ल्याएका, बलिदान दिएर ल्याएका, जेलनेल खटेर ल्याएका, निर्वासनमा बसेर ल्याएका, भूमिगत हिँडेर ल्याएका, दुःखकष्ट गरेर ल्याएका, लाठी खाएर ल्याएका, धेरै यातना सहेर ल्याएका हकअधिकारहरू तपाईंको आदेशमा हामी छोड्दैनौँ,’ उनले भने।

युवा संघले शान्तिपूर्ण मोटरसाइकल र्‍याली गर्न खोज्दा प्रशासनले इजाजत नदिएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले आन्दोलनका लागि अनुमति आवश्यक नपर्ने बताए।

‘आन्दोलन इजाजत लिएर हुने छैन, अनुमति लिएर हुने छैन,’ उनले भने, ‘तपाईंहरूको विरोध गर्न हामीले तपाईँहरूसँगै स्वीकृति लिनुपर्ने आवश्यकता छैन, हामी विरोध गर्छौँ।’

उनले एमाले शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको तर अराजकता स्वीकार्य नहुने स्पष्ट पारे। ‘हामी तोडफोड गर्न सडकमा जाने होइन, आगो लाउन सडकमा जाने होइन,’ उनले थपे, ‘हामी शान्तिका लागि सडकमा जाने हो।’

ओलीले देशमा विभिन्न प्रकारका अराजकता मौलाएको र त्यसलाई सरकारले नै प्रश्रय दिएको आरोप लगाए। उनले संवैधानिक, राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा अराजकता हाबी भएको सुनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *