सुकुम्बासी बस्तीमा दुर्गा प्रसाई: जसले तपाईंको घर भत्काउन आउँछ, त्यसको घर भत्काउनुस् !

काठमाडौं। काठमाडौं महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गामा रहेका सुकुमवासी बस्तीहरू हटाउने अभियानलाई तीव्रता दिएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विरोध गरेका छन्।

‘जसले घर भत्काउन आउँछ, त्यसको घर भत्काउन जानुस्’ प्रसाईंले सुकुमवासी बस्तीहरूमा पुगेर गरेको सम्बोधनमा महानगरको अभियानविरुद्ध आक्रोशपूर्ण र हिंसात्मक अभिव्यक्ति दिएका छन्।

उनले सर्वसाधारणलाई भने, ‘जसले तपाईंको घर भत्काउन आउँछ, त्यसको घर भत्काउनुस्। जसले लक्षारपक्षार गर्छ, त्यसको श्रीमतीमाथि जाइलाग्नुस्।’ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र पूर्वन्यायाधीश सुशीला कार्कीलाई उनीहरूको सरकार भन्दै आलोचना गरेका छन्।

प्रसाईंले सुकुमवासीको घर भत्काएर नभई उनीहरूको समस्या समाधान गरेर मात्र देश बन्न सक्ने बताएका छन्। प्रसाईंले मेयर शाहलाई गरिबको बस्ती हटाउनुभन्दा पहिले ठूला र विवादित सरकारी जग्गा अतिक्रमणका विषयहरूमा हात हाल्न चुनौती दिएका छन्। ‘बालेन जी, तपाईंको दम छ भने बालमन्दिर उठाउनुस्, पशुपति खाली गर्नुस्, बसन्त चौधरीले हडपेको नर्भिक अस्पतालको जग्गा खाली गर्नुस्। अनि मात्रै सुकुमवासी हटाउन आउनुस्,’ उनले भने।

उनले सुकुमवासी समस्या २०५८ सालदेखिको हो भन्दै महानगरसँग बजेट भए राम्रो घर बनाएर दिन चुनौती दिएका छन्। उनले बालेन शाहमाथि ‘एसी रुममा बसेर दारु खाने, जमिन्दारको छोरो भएको र गरिबलाई खेद्ने काम मात्र गरेको आरोप लगाएका छन्।

‘एउटा गरिबको छोरो, एउटी गरिबकी छोरी, गरिबको के हुन्छ, घर पनि हुँदैन, जग्गा पनि हुँदैन, कि खोलाको डिलमा बस्नुपर्यो कि सडकको फुटपाथमा बस्नुपर्यो। यसो सागको मुठो बेच्छु, यसो फर्सीको मुन्टो बेच्छु, मकै पोलेर बेचेर आफ्नो पेट पाल्छु भन्दा शहरलाई राम्रो बनाउने नाममा लात हानेर खेद्नुभयो। शहर खै के सुन्दर छ, जस्ताको तस्तै छ,’ उनले भने।

काठमाडौं महानगरपालिकाले भने सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउने कार्यलाई आफ्नो नियमित अभियानको रूपमा अघि बढाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *