सम्पादकरूसँग प्रधानमन्त्री कार्की : दलका नेताहरूभन्दा जेनजीहरु परिपक्व देखिए

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरुको दबाबको कारण आफूले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेतृत्वसँग भेट नगरेको खुलासा गरेकी छिन् । आज बालुवाटारमा भएको सम्पादकहरूसँगको सम्वादमा प्रधानमन्त्री कार्कीले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जेनजी आन्दोलनपछि जनमतको सम्मान गर्दै राजनीतिबाट विश्राम लिन सुझाव दिईन् । उनले देउवा, ओली र दाहाल भेट्न आए आफू भेट्न तयार रहेको स्पष्ट पारिन् ।

अहिलेपनि चुनावकेन्द्रित छलफलको लागि बालुवाटारबाट पत्राचार भएको भन्दै त्यसरी ठूला नेता आए सम्वाद गर्न तयार रहेको बताईन् । तर, आफू प्रधानमन्त्री भएपछि तीन ठूला नेतासँग फोनमा समेत कुराकानी नभएको उनको भनाई थियो ।

सरकार चुनावको तयारीमा जुटिसकेको भन्दै तोकिएकै मिति २१ फागुनमा निष्पक्ष चुनाव गराएर विदा हुने उनको घोषणा छ । ‘यो सरकारले चुनावको लागि तयारी गरेको छ । प्रहरीलाई चाहिने सामाग्रीको प्रवन्ध गरिएको छ, अहिले प्रहरीको उच्च मनोवल बनाउने कुरामा कुनै कसर बाँकी राख्दैन । चुनावको लागि चाहिने अत्यावश्क सामानको व्यवस्था हुन्छ।’–उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले धाँधलीरहित चुनाव गराएर आफूहरु विदा हुने बताईन् । चुनावमा कुनै पनि अप्रिय घटना हुन नदिन सरकार सजगताका लागिपरेको भन्दै चुनाव शान्तिपूर्ण हुने उनको भनाई छ । उनले भनिन्,‘म तोकिएकै मितिमा चुनाव गरेर देखाउँछु ।’
सरकारले अहिलेसम्म कुनै विदेशी हस्तक्षेपको महशुस नगरेको पनि प्रधानमन्त्री कार्कीको प्रष्टीकरण थियो । आफूले प्रधानमन्त्री भएपछि सरकारी निवास बालुवाटारमा एकजना पनि विदेशी राजदूतसँग भेटवार्ता नगरेको उनको दाबी छ ।

वर्तमान सरकार चुनाव सम्पन्न गराउने उद्देश्यले गठन भएको भएपनि सुशासन कायम गर्न कटिबद्ध रहेको उनको भनाई थियो । प्रधानमन्त्री कार्कीले सरकार भ्रष्टाचारीलाई कारबाही गर्न तयार रहेको विश्वास दिलाईन् । उनले भनिन्,‘सरकार भ्रष्टाचारीलाई कारबाही गरेर निर्वाचनमा जान्छ । जेनजीका धेरै समूहहरु छन् । त्यो बढ्दै जान्छ । सबै समूहसँग मैले कुरा गरेको छु ।’ अब हुने मन्त्रिपरिषद् विस्तारमा जेनजीहरुलाई समेट्ने पनि उनले विश्वास दिलाईन् । पर्यटन मन्त्रालयको नेतृत्वमा भने बुझेको र निश्पक्ष छवि भएको विषयविज्ञ ल्याउने उनको घोषणा छ ।

राजदूतहरू फिर्ता बोलाउनुको कारण यस्तो
प्रधानमन्त्री कार्कीले सरकारले विभिन्न देशका ११ राजदूतहरु फिर्ता बोलाउनुको कारण उनीहरुले वर्तमान सरकारविरुद्ध लविङ गरेको र देशको हितमा आशातित काम नगरेको कारण देखाईन् । राम्रो काम गरेकाहरुलाई फिर्ता नबोलाएको उनको तर्क थियो । कतिपय राजदूतहरु आर्थिक आर्जनमा समेत लागेको उनको गम्भीर आरोप थियो ।

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारमा सहभागी भएकाहरु चुनाव नलड्ने स्पष्ट पारिन् । तर, उर्जामन्त्री कुलमान घिसिङमात्रै चुनाव लड्ने भनेर आफूले सुनेको उनले उल्लेख गरिन् । उनले भनिन्,‘अहिले सरकारमा सहभागी हुनुभएका कोही पनि मन्त्री चुनाव लड्नुहुन्न । गृहमन्त्री ओमप्रकाशजीले त चुनाव गरेको भोलिपल्ट वकालतमा फर्किन्छु भन्नुभएको छ।’

काठमाडौंका मेयर बालेन्द्र शाहलाई भाइ भनेर सम्बोधन गरेकी प्रधानमन्त्री कार्कीले बालेनले आफ्नो कुरा नमान्ने स्विकारिन् । उनले भनिन्,‘बालेन शाह भाइ हुन्, यहाँ आउँछन् । भेट्छन् । आफ्नो कुरा राख्छन्, जान्छन् । मेरो कुरा मान्दैनन् । उनी आफ्नै किसिमको मान्छे हुन् । गृहमन्त्री हटाउने भन्ने कुरा जो आयो, म हटाउने पक्षमा छैन् ।’

उनले आफू रहरले अहिलेको जिम्मेवारीमा नआएको बताईन् । भदौ २३ गते गोली लागेर घाइते भएकाहरुको अस्पतालमा हालत खराब देखेपछि आफूमा भक्कानो फुटेको पनि उनले स्मरण गराईन् । राष्ट्रपति रामचन्द्र पौडेलले नै आग्रह गरेपछि आफू प्रधानमन्त्री भएको पनि उनले खुलासा गरिन् ।

उनले आफ्नो सरकारमा सहभागी कसैले पनि घुस नखाने बरु सुशासन कायम गर्ने बताईन् । आफूले सम्पत्ति विवरण बुझाईसकेकोले छिट्टै सार्वजनिक हुनेपनि प्रधानमन्त्री कार्कीको घोषणा छ । उनले भनिन्,‘मैले मेरो सम्पत्ति विवरण दिखएको छु, अरु मन्त्रीहरुको पनि छिट्टै सार्वजनिक हुन्छ ।’

जेनजी, दलका नेताहरू र सरकारका प्रतिनिधिहरुबीच भएको भेटवार्ता सकारात्मक रहेको उनको प्रतिक्रिया छ । त्रिपक्षीय छलफलमा आफूले जेनजीका प्रतिनिधिहरुलाई एकदमै परिपक्व पाएको पनि उनको भनाई छ । उनले जेनजीहरु धेरै समूहमा रहेको स्विकारिन् । जेनजीहरुको आधिकारिक नेता सुदन गुरुङ भएको पनि उनले उल्लेख गरिन् ।

उनले आफूले जेनजी युवाहरुसँग बारम्बार बोलाएर छलफल गरेको जानकारी दिईन् । जेनजीहरुले सुशासन, भ्रष्टाचारीलाई कारबाही र चुनावको कुरा गरेकोले सरकार आफ्नो जिम्मेवारीमा खरो उत्रिएको उनको भनाई यिो । उनले भनिन्,‘उनीहरु (जेनजी) क्लियर छन् । बरु, दलका नेताहरु क्लियर छैनन् ।’

सो क्रममा उनले दुर्गा प्रसाईंको गतिविधि सरकारले नजिकबाट नियाँलिरहेको संकेत गरिन् । आफूले प्रसाईंलाई दल खोल्न भनेको पनि उनले स्मरण गराईन् । तर, कानून उल्लंघन गरे, सरकारले भनेको नमाने सरकारले ल एण्ड अर्डर कायम गर्ने उनको भनाई छ । उनले भनिन्,‘उहाँ वार्तामा आउँछु भन्नुहुन्छ। तर, आउनुभएको छैन । फेरि आन्दोलन गर्छु भनेर धम्की पनि दिनुहुन्छ । मैले त झापामा गएर चुनाव लड्नुहोस भनेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *