माधव नेपाललाई झलनाथकाे प्रश्न : पार्टी फुटाएर तपाईं माओवादीमा जान सुहाउँछ ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)सँगको एकताको विपक्षमा उभिएका छन् ।

सुकेधारामा जारी केन्द्रीय कमिटीको बैठकमा खनालले माओवादीसँग एकता गरे एमालेसँगको विद्रोह पुष्टि नहुने जिकिर गरेका थिए ।

उनको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘अहिले हाम्रो पार्टी माओवादीमा एकता गर्ने हो भने एमालेसँग विद्रोह गरेको जायज थियो भन्ने पुष्टि हुँदैन।’

पार्टी एकताका सवालमा आफ्नो धारणा राख्दै नेता खनालले अहिले पार्टी एकता गर्ने समय नभएर क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला रहेको बताए ।

‘पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्ने भए गर्नुस्’, बैठकमा खनालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो– ‘होइन भने यो एकीकरणको बेला होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला हो ।’

नेता खनालले माओवादीभित्र धेरै समस्या रहेको भन्दै उनीहरूभित्रै मतभेद रहेको बेला एकता गर्नु उचित नहुने धारणा राखे । ‘उनीहरूभित्रै राजनीतिक, सैद्धान्तिक मतभेद छ । त्यो नमिलाई पार्टी चलाउन पनि सकिएन, पैसा पनि छैन, कार्यालय पनि तोडफोड भयो भनेर जान खोजेको हो भने भन्नु केही छैन’, खनालले माधव नेपाललाई प्रश्न गर्दै भने- ‘एमालेसँग विद्रोह गर्दा हामीले चार वर्षसम्म माधव कमरेडलाई साथ दिएको हो अब अहिले माधव कमरेडले छाडेर जान सुहाउँछ ? यो पार्टी फुटाएर तपाई माओवादीमा जान सुहाउँछ ?’

एकीकृत समाजवादी र माओवादीबीचको एकताका विषयमा झलनाथ र महासचिव भुसाल विरोधमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *