काठमाडौं। दाउन्ने खण्डको सडकमा जामको समस्या लामो समयदेखि निरन्तर रहँदै आएको छ। दैनिक सयौं सवारी साधन आवागमन हुने यो मुख्य राजमार्गमा ट्राफिक व्यवस्थापन कमजोर र सडक मर्मतको ढिलाइका कारण यात्रुहरूले ठूलो सास्ती भोग्दै आएका छन्।
धनगढीबाट काठमाडौंतर्फ यात्रा गरिरहेका कमल बोहराका अनुसार यहाँबाट गाडी समयमा छुटे पनि दाउने पुग्नेबित्तिकै घण्टौंसम्म जाममा बस्नुपर्छ। कहिलेकाहीँ ४ देखि ५ घण्टासम्म सवारी अड्किन्छन्। उनका अनुसार यात्रुहरूलाई समयमा गन्तव्य पुग्न कठिन भइरहेको छ।सरकारले यो सडक खण्डमा ध्यान नदिँदा समस्या झन् गम्भीर बन्दै गएको उनको गुनासो छ।
बोहराले भने, ‘सायद नेताहरूले पनि यो बाटो हिँड्ने गरेका भए सडक छिट्टै बनिसक्थ्यो होला, तर उनीहरू नहिँड्ने भएकै कारण निर्माण कार्य ढिलो र सुस्त भएको हो।’
दाउने सडक अहिले पनि असमान, धुलाम्मे र संकुचित रहेको कारण सवारी जाम बढ्ने गरेको स्थानीयहरूको भनाइ छ। विशेषगरी मालबाहक ट्रकहरूको अत्यधिक चापले पनि आवागमन अवरुद्ध हुने गरेको छ।
स्थानीयले पटक पटक सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि ठोस पहल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। यात्रु र स्थानीय दुवैले सम्बन्धित निकायले तत्काल सडक मर्मत र ट्राफिक व्यवस्थापन सुधारका लागि कदम चाल्न माग गरेका छन्।











