काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसके बताएका छन्। सुकेधारामा जारी मिराकल पार्टी भेन्यूमा जारी केन्द्रीय कमिटी बैठकमा पार्टीका नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले एमालेसँग विद्रोह गर्नुको औंचित्य पुष्टि भइसकेको बताएका हुन्।
पार्टीको दसौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा समेत यस विषयमा स्पष्ट पारिएको उनले स्मरण गरे। ‘पार्टीको दसौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा यस विषयमा प्रष्ट पारिएको भए पनि कुरा उठ्न नछाडेको उनले गुनासो गरे। फेरि पनि स्पष्ट गरौं, कुनै पनि कार्यको औचित्य भनेको उक्त कार्य गर्नु उचित थियो कि थिएन भन्ने हो, उक्त कार्यका उचित कारण थिए कि थिएनन् भन्ने हो। हाम्रो विद्रोह अनुचित थिएन, उचित थियो। विद्रोह गर्नुका कारणहरू उचित थिए र विद्रोह गर्नु अत्यावश्यक थियो,’ उनले भने।
पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित केपी ओलीले पार्टी महाधिवेशनबाट पारित गरिएको क्रान्तिकारी कार्यदिशा कार्यान्वयन नगर्नुका साथै पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलतर्फ धकेल्दै लगेपछि पार्टीभित्र गम्भीर मतभेद उत्पन्न भएको उनले बताए।
आफूले बारम्बार फरक मत राख्दै वैचारिक सङ्घर्ष चलाए पनि ओलीले फरक मत राख्नेहरूप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको गुनासो गरे।
विद्रोहको पृष्ठभूमिमा वैचारिक सङ्घर्ष र प्रतिवादसमेत भएको उनले जिकिर गरेका छन्। विद्रोहको औचित्यका सम्बन्धमा विगतमा धेरै पटक छलफल भएर केन्द्रीय कमिटीका विभिन्न बैठक र पछिल्लो पटक दशौं महाधिवेशनबाट समेत आवश्यक र औचित्यपूर्ण थियो भन्ने निष्कर्ष सर्वसम्मतिले निकालेको उल्लेख छ।
अध्यक्ष नेपालले माओवादीसँग एकताको प्रस्ताव गरेसँगै सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल नेता विपक्षमा छन्। उनीहरूले पार्टी पुनर्गठनमा जोड दिएका छन्।
