बालेनले गृहमन्त्री हटाउन दबाब दिएपछि ईः ईः को टिप्पणी- प्रधानमन्त्री पनि फेरिने परिस्थिति आउन सक्छ

काठमाडौं । सामाजिक अभियन्ता ईःईः ले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र उनका आसपासकाले गृहमन्त्री फेर्न हरसम्भव प्रयास गरिरहेको दाबी गरेका छन् । गृहमन्त्रीबाट ओमप्रकाश अर्याललाई हटाएर राजुनाथ पाण्डे वा मीरा चौधरीलाई उनको ठाउँमा ल्याउन खेल चलिरहेको उनको दाबी छ । सामाजिक अभियन्ता ईःईः ले भदौ २४ गतेको पहिलो प्राथमिकता नै बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच गराउनु रहेको पनि दाबी गरेका छन् । बालेन प्रधानमन्त्री बन्नको लागि सुरुमा तयार भए पनि पछि परिस्थिति सोचेजस्तो नभएको उनको दाबी छ ।

बालेनपछि प्रधानमन्त्रीमा सर्वोच्च अदालतमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई अगाडि सार्ने काम भएको तर श्रेष्ठको फरक मत सर्वस्वीकार्य नभएका कारण त्यो सम्भावना टरेको ईःईः को दाबी छ । देशको पूर्ण भ्याकुम र थप अनिष्ट परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य र सर्वविश्वासिलो बनाइएको उनको दाबी छ ।

उनले सामाजिक सञ्जालमा भनेका छन्ः

भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनुथियो। शुरुमा तयार भएपनि परिस्थिति सोचेको भन्दा विकराल भएपछि उनले खुट्टा कमाए। दोस्रो प्राथमिकतामा रबि थिए तर विकशित परिस्थितिले उनको ओज कम गरिदियो, गराइयो। त्यसपछि २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास चल्यो। तर संविधानका आधारभूत विषयमा उनको फरक मत सर्वस्वीकार्य भएन भन्ने बुझिएको छ। यी प्रयास प्रारम्भबिन्दूमा यस्तो सानो बृतमा सीमित थियो कि निर्मल निवास, अधिकांश दलका पदाधिकारी, र कैयन् शक्तिकेन्द्र यसबारे बेखबर थिए।

पूर्ण भ्याकुम र थप अनिष्ट परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य, सर्वविश्वाशिलो बन्नुभयो। यसमा बालेनसङ्ग राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण टाढिएका, सक्दो विधिसम्मत ढङ्गले चल्नुपर्छ भनेर प्रायः अडिग, ओमप्रकाश अर्यालको ठूलो भूमिका थियो। त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो। उनको सट्टा प्राथमिकतामा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसंभव प्रयास गरेकै हुन्। अहिलेपनि गर्दैछन्। गृहमन्त्री कमीकमजोरी रहित व्यक्ति होइनन् तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकशित हुनसक्छ। यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिप्रतिष्पर्धा चल्दैछ। अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ। के नवयुवाको रगत यसैको लागि बगेको हो ? कस्तो बिडम्बना ? कस्तो निर्लज्जता ?

बेलैमा सबै पक्षले आ–आफ्नो भूमिकाबारे थप दूर्घटना टार्न सचेत हुन जरूरी देखिन्छ। स्टन्टका लागि मात्र नभई विधिसम्मत र परिपक्व हिसाबले भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनुनैपर्छ। आम मानिसको हकमा मात्र नभई जवाफदेहिता र न्याय ओहदा नहेरी स्थापित हुनुपर्छ। समयमा चुनाव हुनैपर्छ। सबैको आआफ्नो स्वार्थपूर्ण निकाश परिदृश्य होला । तर समाजको लागि उपयुक्त यही हो। रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा हुँदैन। अनि यतिको सत्य बोल्न पनि ज्यानै खतरामा भएको महसूस गर्नुपर्ने हो भने, होस् खतरा होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *