काठमाडौँ । आन्दोलनरत शिक्षकहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने बताएका छन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै सडक आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने बताएका हुन् । यद्यपि यो विषयमा भने औपचारिक निर्णय भने गरिसकेका छैनन् ।
शिक्षकहरूले अनौपचारिक छलफलको क्रममा प्रधानमन्त्री वा सभामुखसँग वार्तामा बस्न सकिने बताएका हुन् । नेपाल शिक्षक महासङ्घका सल्लाहकार, पूर्व अध्यक्ष तथा पूर्व पदाधिकारीहरूले उक्त सुझाव दिएका छन् । उनीहरूको सुझावका आधारमा महासङ्घले प्रधानमन्त्री तथा सभामुखसँग वार्ता गर्ने मनसाय बनाएको हो ।
महासङ्घका सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीले वार्ताका लागि कुनै छलफल नभएको बताइन । तर, पूर्वअध्यक्ष तथा सल्लाहकारबाट प्रधानमन्त्री तथा सभामुखसँग वार्ता गर्न सकिने सुझाव दिएको बताइन् । उक्त सुझावका विषयमा महासङ्घमा कुनै छलफल समेत नभएको उनको भनाइ छ ।
