काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूले कुनै पनि तलबभत्ता र सेवा सुविधा नलिने बताएका छन् । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उनले आफूले स्वकीय सचिव, तलबभत्ता, भान्सेलगायतको सेवा सुविधा नलिएको बताएका हुन् । उनले आफूलाई तलबभत्ता चाहिँदैन भनेर सही गरेर नै पठाइसकेको बताए ।
‘शिक्षा मन्त्रालयमा यहाँ बसेको छु नि । डेरा गरेर बसेको छु । यहाँ पनि खान त खाएकै छु त । यहाँ मैले शिक्षा मन्त्रालयबाट केही पनि लिएको छैन । न त मेरो स्वकीयहरुको लागि तलब लिएको छ ? भान्से राख्न पाउँछ, मैले भान्से राखेको छैन । आफ्नो प्राइभेट स्वकीयहरु राख्न पाउँछ केही पनि राखेको छैन । मैले पनि मन्त्रीको तलब पाउँछ रे । चाहिँदैन भन्दिसकेको छ । सही गरेर दिनुपर्ने रहेछ, सही पनि गरेर दिएको छ,’– उनले भने ।
