काठमाडौं। यस वर्ष तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेता पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज तिहार विशेष मौसम बुलेटिन जारी गरेर वायुको सामान्य प्रभाव रहने भएकाले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने तथा पहाडी भूभागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भूभागमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेको जनाएको छ।
कार्तिक ३ (लक्ष्मी पुजा): देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ।
कार्तिक ४ (औँसी): देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ।
कार्तिक ५ (गोवर्धन पुजा ): देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ।
कार्तिक ६ (भाइटीका): कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। सबै प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
