गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारका हरेक निर्णयलाई पारदर्शी बनाइने बताएका छन् । पोखरास्थित प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको आज उद्घाटन गर्दै उनले मन्त्रिपरिषद् बैठकका निर्णय २४ घण्टाभित्र सार्वजनिक गर्ने गरिएको बताए ।
चौबीस घण्टाभित्र र २४ घण्टापछि सार्वजनिक गर्नुपर्ने निर्णय सोहीअनुसार हुन्छ, मन्त्रिपरिषद् बैठकले गर्ने निर्णयबारे पत्रकारले पनि चासो दिनुपर्छ, मुख्यमन्त्री पाण्डेले भने, कुनै कारणले लुकेको सूचना पनि मिडियामार्फत बाहिर ल्याउँछ । मन्त्रिपरिषद्ले गरेका निर्णयलाई थप पारदर्शी बनाउँदै लगिने उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले प्रेस रजिष्ट्रार कार्यालयलाई प्रदेश सरकारले कुनै खालको हस्तक्षेप नगर्ने बताए ।
आमसञ्चार क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रेस रजिष्ट्रार कार्यालयले स्वतन्त्र तबरले काम गर्नुपर्ने उनले बताए । ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेका कारण प्रेस रजिष्ट्रार कार्यालयमाथि प्रदेश सरकारको हस्तक्षेप रहन्छ कि भन्ने आशङ्का उब्जिन सक्छ, तर हामी त्यसो हुन दिँदैनौँ, मुख्यमन्त्री पाण्डेले भने । सोही अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले आमसञ्चार क्षेत्र हेर्ने प्रादेशिक संरचना स्थापना हुनु सखुद पक्ष रहेको उल्लेख गर्दै प्रेस रजिष्ट्रार कार्यालयको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले पत्रकार र आमसञ्चार क्षेत्रको सबलीकरणका लागि प्रेस रजिष्ट्रार कार्यालयसँग सहकार्य गर्ने बताए । प्रेस रजिष्ट्रार विमला भण्डारीले कार्यालय स्थापनासँगै वार्षिक कार्यक्रम कार्यान्वयन सुरु भएको जानकारी दिए ।
