चीनले शनिबार बिहान आफ्नो स्मार्ट ड्र्यागन-३ (एसडी-३) नामक रकेट मार्फत गेली-०४ उपग्रह समुह (कन्ष्टलेसन) सफलतापूर्वक पृथ्वीको कक्षमा पठाएको छ । यो प्रक्षेपण पूर्वी चीनको सान्दोङ्ग प्रान्तको रीजाओ शहर नजिकै समुद्रबाट गरिएको हो ।
‘गेली-०४’ एक उपग्रह समूह हो, जसलाई चीनले हालै प्रक्षेपण गरेको हो । यो समूहमा साना साना उपग्रहहरू समावेश छन् जुन पृथ्वीको कक्षमा रहेका हुन्छन् र यी उपग्रहहरूले सञ्चार, नेभिगेशन, मौसम पूर्वानुमान र वैज्ञानिक अनुसन्धानजस्ता क्षेत्रमा काम गर्ने उद्देश्य राख्दछन् । यस्तो उपग्रह समूहले पृथ्वी अवलोकन र डाटा सङ्कलनमा सुधार ल्याएर विभिन्न सेवा र प्रविधिमा सटीकता र विश्वसनीयता बढाउँछ ।
चिनियाँ समय अनुसार बिहान १२:३१ बजे, रकेट समुद्री प्रक्षेपणस्थलबाट आकाशतर्फ उडाइएको थियो। यस समुद्री प्रक्षेपण अभियानलाई ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रले सञ्चालन गरेको थियो ।
समुद्रबाट गरिएको यो सफल प्रक्षेपण चीनको बढ्दो प्रविधिक क्षमताको संकेत हो, जसले वैज्ञानिक अनुसन्धान, संचार र सटीक स्थान निर्धारण प्रणालीमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
