धनगढी । जिल्ला कारागार कैलालीमा भएको कुटपिटमा घाइतेमध्ये एक जनाको आइसीयूमा राखेर उपचार भइरहेको छ।
कुटपिटमा गम्भीर घाइते रबी चौधरीको आइसीयूमा राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। अर्का गम्भीर घाइते जगदीस रानालाई अपरेशन थिएटरमा राखिएको छ।
कारागारमा कैदीबन्दीबीच हिजो राति झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। झडपमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते चौधरीको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएपछि मृत्यु भएको हो।
प्रहरीका अनुसार मृतक चौधरी लागूऔषध मुद्दाका कैदीबन्दी हुन्। उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
घाइतेको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले बिरामीका आफन्त र सर्वसाधारणलाई अस्पतालभित्र जान कडाइ गरेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबिच झडप भएको हो।
