मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बरहथवा (सर्लाही)। सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रबार बलरा नगरपालिका–११ वडा कार्यालय नजिकै बिआर३०के ४६९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही स्थान बस्ने सहिब बैठाकी श्रीमती ५५ वर्षीया चन्दादेवी बैठाको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई अचलगढ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षका जितेन्द्र ठाकुरसमेत घाइते हुनुभएको छ ।

उनको प्रादेशिक अस्पताल मलंगवा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

यसैबीच अचलगढ अस्पतालमा रहेको एम्बुलेन्समा इन्धन नभएका कारण बिरामीलाई समयमै अन्य अस्पताल लैजान नसक्दा बिरामीको मृत्यु भएको स्थानीयले गुनासो गरेका छन्। एम्बुलेन्समा पम्पबाट इन्धन ल्याएर हालेर बिरामी लैजाँदा दुई घण्टा ढिलो अस्पताल पुगेका कारण बिरामीको ज्यान गएको परिवारको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *