काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।
हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेकोमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एकीकृत समाजवादीका महासचिव भुसालसँग भेट गरेका हुन्।
हात्तिवनस्थित श्रेष्ठको निवासमा भएको भेटमा पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे कुराकानी भएको बताइएको छ।
करिब एक घण्टा चलेको भेटमा राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे दुई नेताबीच कुराकानी भएको थियो।
यस्तै नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका साथै कम्युनिष्ट आन्दोलनको रूपान्तरण र पुनर्गठनका विषयमा समेत छलफल भएको बताइएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकार वर्तमान सरकार निरङ्कुश र भ्रष्ट बन्दै गइरहेको भन्दै उनीहरूले आलोचना गरेका छन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता चर्चा भइरहेका बेला श्रेष्ठ र भुसालबीचको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ।
यसअघि माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’सँग भेट गरेका थिए।
माओवादी केन्द्रले स्थायी कमिटी बैठकबाटै विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरिएको घोषणा गरे पनि एकता प्रक्रिया अघि बढ्न सकेको छैन।
विप्लव पक्षका नेताहरुले एकताको सम्भावना नरहेको बताइरहँदा माओवादीले भने वार्ता टोली गठन गरेर छलफल अघि बढाउने निर्णय भएको जनाएको छ।
