हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकतामा निजी क्षेत्र, यातायात, सीमान्तकृत र विपन्न समुदाय रहने बताएका छन् । नारायणी यातायात व्यवसायी सङ्घले आज एक कार्यक्रम आयोजना गरी उनलाई बधाइ तथा स्वागत गरेको थियो ।
सङ्घको सल्लाहकार समेत रहेका मुख्यमन्त्री बानियाँले यातायात क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाए । यातायात व्यवसायीलाई उत्साह जगाउने गरी काम गर्ने उनको भनाइ छ । मुख्यमन्त्री बानियाँले सङ्घीय सरकारसँग समन्वय गरी जीर्ण अवस्थाका राष्ट्रिय राजमार्गहरु मर्मतका लागि पहल गर्ने बताए ।
पथलैया–हेटौँडा–नारायणगढ सडक विस्तारलाई छिटो सम्पन्न गर्नुपर्नेमा उनको जोड छ । मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा निजी क्षेत्र विकासको मुल मेरुदण्ड रहने बताए ।
सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले यातायात व्यवसायका समस्याहरुबारे मुख्यमन्त्री बानियाँलाई अवगत गराए । पञ्जीकरणका नाममा यातायात क्षेत्रमा भ्रष्टचारको सुरुवात भएको गुनासो उनले गरे ।
