राजनीति सेवाका लागि हो भन्ने भावना हुनुपर्छः कावा प्रधानमन्त्री सिंह

गण्डकी। कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राजनीति सेवाका लागि हो भन्ने भावना हुनु जरुरी रहेको बताएका छन्।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वले जनताको मन जित्न सक्नुपर्ने बताए।

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गरेका सन्दर्भमा पार्टीका महाधिवेशन, महासमिति, पालिका आदिमा नेतृत्व चयनमा बुझेका र योगदान गर्नसक्ने व्यक्तिलाई छनोट गर्नुपर्ने उनको भनाइ छ।

पार्टीबाट लिनेभन्दा पनि योगदान गर्नसक्ने व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने उल्लेख गर्दै उनले जिम्मेवारी र इमान्दारिता आत्मसात् गर्नसक्ने व्यक्तिलाई अवसर दिनुपर्ने आवश्यकता औँल्याए।

नेपाली कांग्रेस र नेकपा (एमाले)को वर्तमान गठबन्धन सरकार समय परिस्थितिले गठन भएको उल्लेख गर्दै उनले सरकारमा जानु भनेको जनताका एजेन्डा उठान गर्नका लागि भएको धारणा राखे।

पार्टी लाई नियमसंगत ढंगले संस्थागत गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी बलियो भयो भने पार्टीका स्थापनाकालीन सपनालाई पूरा गर्न सहयोग पुग्ने बताए।

हरेक प्रजातान्त्रिक आन्दोलनले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्नु जरुरी भएको उनको भनाइ छ। हामीले परिवर्तनबाट प्राप्त गरेका अधिकारको मूल्य बिर्सन नहुने बताउँदै उनले मूल्यमान्यताको राजनीतिबाट विमुख बन्न नहुने बताए।

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीका ऐतिहासिक विरासतलाई बिर्सँदै जाँदा पार्टी संगठन कमजोर बनिरहेको बताए। पछिल्लो समयमा भ्रष्टाचार बढिरहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणसँगै जनताको अपेक्षालाई सम्बोधन गर्ने ढंगबाट सरकार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *