‘सफलताको आशामा’ : युक्रेन वार्ताका लागि अमेरिकी विशेष दूतले मस्को भ्रमण गर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले युक्रेनी द्वन्द्वमा वार्तामा सफलता हासिल गर्न आइतबार मस्को भ्रमण गर्ने तयारी गरेको नाटोका लागि अमेरिकी राजदूत म्याथ्यु ह्वाइटकरलाई उद्धृत गर्दै आरटीले रिपोर्ट गरेको छ ।

आरटीका अनुसार, विटकफको आगामी रुस भ्रमणलाई उल्लेख गर्दै ह्वाइटकरले डब्लुएचओ १३ न्युजलाई भने, “मलाई आशा छ कि उहाँले सफलता हासिल गर्न सक्नुहुन्छ ।”

विशेष दूत विटकफले यसअघि कूटनीतिक प्रयासका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै पटक भेटवार्ता गरिसकेका छन् ।

आरटीका अनुसार ट्रम्पले विटकफको रुस भ्रमणको योजना पनि घोषणा गरेका छन्, यद्यपि कुनै निश्चित समयसीमा दिइएको थिएन ।

अमेरिकाले नाटोका सहयोगीहरूलाई हतियार बेच्न चाहेको ह्वाइटकरले बताए । नाटो सहयोगीहरूले त्यसपछि मस्को र किएभ बीचको वार्तालाई सहज बनाउन ती हतियार युक्रेनलाई प्रदान गर्नेछन् ।

“संयुक्त राज्य अमेरिकाले हाम्रा नाटो सहयोगीहरूलाई हाम्रा हतियारहरू बेचेर, त्यसले रुसीहरूलाई वार्ता टेबलमा फर्काउनेछ र वास्तवमा यहाँ युद्धविराम ल्याउनेछ भन्ने मलाई आशा छ”, उनले भने ।

यस हप्ताको सुरुमा, ट्रम्पले रुस र युक्रेनलाई शान्ति सम्झौता गर्नका लागि आफ्नो मूल ५० दिनको समयावधिलाई केवल १० दिनमा घटाएर पालना गर्न असफल भएमा व्यापक दण्डहरू आउनसक्ने चेतावनी दिए ।

यसमा सत प्रतिशत कर र रूसको व्यापार साझेदारहरूलाई लक्षित माध्यमिक प्रतिबन्धहरू समावेश हुनसक्ने आरटीले बताएको छ ।

आरटीका अनुसार, संयुक्त राष्ट्रसङ्घका लागि कार्यवाहक अमेरिकी दूत जोन केलीले पनि ट्रम्पले अगस्ट ८ सम्ममा युद्धविरामको अपेक्षा गरेको पुष्टि गरेका छन् ।

मध्यपूर्वका लागि संयुक्त राज्य अमेरिकाका विशेष दूत स्टिभ विटकफ गाजामा भोकमरी सङकटका बीच शुक्रबार गाजामा अमेरिकी समर्थित खाद्य सहायता स्थलमा आइपुगेपछि यो घटनाक्रम विकास भएको सिएनएनले रिपोर्ट गरेको छ ।

एक इजरायली स्रोतले सिएनएनलाई विटकफ गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जिएफएच) द्वारा सञ्चालित विवादास्पद सहायता सुविधामा पुगेको पुष्टि गरेको छ ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार पत्रकारहरूलाई विटकफ र इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबीले ‘हालको वितरण स्थलहरूको निरीक्षण गर्न, थप खाद्यान्न वितरण गर्ने योजना सुरक्षित गर्न र स्थानीय गाजावासीसँग भेट गरेर यस विकट अवस्थाको बारेमा प्रत्यक्ष सुन्न’ गाजा भ्रमण गर्ने कार्यक्रम तय गरिएको बताए ।

लेभिटका अनुसार विटकफ र हुकाबीले ‘यस क्षेत्रमा खाना र सहायता वितरणका लागि अन्तिम योजना स्वीकृत गर्न आफ्नो भ्रमण लगत्तै राष्ट्रपतिलाई जानकारी दिनेछन् । लेभिटले अमेरिकी राष्ट्रपतिबाट उक्त योजना स्वीकृत र सहमत भएपछि ह्वाइट हाउसले थप विवरणहरू प्रदान गर्ने बताए ।

सिएनएनका अनुसार यो विटकफको गाजाको दोस्रो भ्रमण हो । उनको पहिलो भ्रमण जनवरीमा डोनाल्ड ट्रम्पले पदभार सम्हालेको केही समयपछि भएको थियो । उक्त भ्रमणले विटकफलाई एक दशकभन्दा बढी समयमा गाजामा पाइला राख्ने पहिलो अमेरिकी अधिकारी बनाएको थियो ।

सिएनएनका अनुसार संयुक्त राज्य अमेरिकाले दोहाबाट आफ्नो वार्ता टोली फिर्ता बोलाएपछि उक्त भ्रमण भएको थियो । दोहामा गाजा युद्धविराम सुरक्षित गर्ने उद्देश्यले वार्ता भइरहेको थियो ।

अमेरिकी विशेष दूत विटकफले हमासको पछिल्लो प्रतिक्रियाले ‘स्पष्ट रूपमा युद्धविराममा पुग्ने इच्छाको कमी’ देखाएको बताए ।

एक्समा पोस्ट गर्दै, विटकफले भने, “अमेरिकाले अब बन्धकहरूलाई घर ल्याउन वैकल्पिक विकल्पहरू विचार गर्नेछ र गाजाका जनताका लागि थप स्थिर वातावरण सिर्जना गर्ने प्रयास गर्नेछ ।” ती विकल्पहरू के हुन सक्छन् भन्नेबारे उल्लेख गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *