वेलिङटन । न्युजिल्याण्डकी एक महिलालाई बसमा यात्रा गरिरहेको अवस्थामा आइतबार पक्राउ गरिएको छ ।
‘डिटेक्टिभ इन्स्पेक्टर’ सिमोन ह्यारिसनका अनुसार ती महिलामाथि बच्चालाई दुव्र्यवहार गरेको र बेवास्ता गरेको आरोप लगाइएको छ ।
अकल्याण्डबाट १०० किलोमिटर उत्तरमा रहेको काइवाकामा रहेको बस डिपोमा बस चालकले एउटा झोलाभित्र केही चलिरहेको पाएपछि प्रहरीलाई बोलाइएको थियो ।
“चालकले प्रहरीको अगाडी सुटकेस खोल्दा उनीहरूले त्यहाँ दुई वर्षीया बालिकालाई भेट्टाएका थिए,” ह्यारिसनले भने ।
“सानी केटी आत्तिएर निकै तातो भएको रिपोर्ट गरिएको थियो तर अन्यथा शारीरिक रूपमा उनको कुनै क्षति भएको थिएन।”
ती महिलाले आफ्नो सुटकेस र अन्य सामान बसका यात्रुको तल छुट्टै कम्पार्टमेन्टमा राखेकी थिइन् । ह्यारिसनका अनुसार अहिले ती बालिकाको अस्पतालमा व्यापक स्वास्थ्य परीक्षण भइरहेको छ ।
बालिकालाई अस्तव्यत छोडिएको अवस्थामा २७ वर्षीया एक महिला पक्राउ परेकी छन् । न्युजिल्यान्डका बालबालिका मन्त्री ओरंगा तामरिकीलाई यसबारे जानकारी दिइएको छ ।
