‘पानीको अभाव र संकटलाई समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकटलाई समाधान गर्न जलस्रोत विधेयक आवश्यक रहेको बताए।

आज राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफलका क्रममा मन्त्री खड्काले पानीको संकट समाधानका लागि जलस्रोत विधेयकलाई शीघ्र पास गर्नुपर्नेमा जोड दिए।

‘यो मुलुकको हितका लागि बनाइएको कानुन हो, सांसदहरूले दिएको राय सुझावलाई ग्रहण गरेर सरकारले जलस्रोत विधेयकलाई शीघ्र टुङ्ग्याउनुपर्छ’, उनले भने। उनले विधेयकमार्फत स्थानीय तह र प्रदेश सरकारलाई सबल र सक्षम बनाउँदै लैजानुपर्नेमा जोड दिए।

समितिका सभापति तुलसाकुमारी दाहालले सबै सांसदहरूले दिएको राय सुझावलाई ग्रहण गरेर विधेयकलाई टुंगो लगाइने बताइन्। उनले विधेयकमा सच्याउनुपर्ने विषयलाई सच्याएर शीघ्र टुंगोमा पुर्‍याउने उल्लेख गरिन्।

सांसद कृष्णप्रसाद सिटौला, डा वेदुराम भुसाल, डा अन्जान शाक्यलगायतले छुटेका विषयलाई समेटेर विधेयकलाई समृद्ध र समयानुकूल बनाइनुपर्ने बताएका थिए।

नेपालको संविधानमा उल्लिखित विकाससम्बन्धी नीति र प्राकृतिक साधन स्रोतको संरक्षण, सम्वर्द्धन र उपयोगसम्बन्धी नीतिको कार्यान्वयनका लागि कानुनी तथा संस्थागत व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको हो।

जलस्रोतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ‘जलस्रोत विधेयक–२०८१’ गत जेठ ५ गते प्रतिनिधिसभाबाट पारित भएको थियो। हाल उक्त विधेयक राष्ट्रियसभाको विधान व्यवस्थापन समितिमा दफाबार छलफलका क्रममा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *