मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल

काठमाडौं । प्रेस चौतारी नेपालको आयोजनामा आज सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र पत्रकारहरुबीच मिडिया काउन्सिल विधेयकमाथि छलफल भएको छ ।

सञ्चार मन्त्री गुरुङले छलफलमा उठेका प्रश्नहरुको सम्बोधन गर्दै प्रेस स्वतन्त्रता र स्वायत्तताप्रति विधेयक संवेदनशील हुने बताए । उनले सो विधेयकलाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्नरत रहेको उल्लेख गरे ।

छलफलमा नेपाल पत्रकार महासङ्घका पुर्व अध्यक्ष शिव गाँउलेले मिडिया काउन्सिल विधेयकले पत्रकारलाई आचारसंहितामा रहन र पत्रकारको गुनासो सुन्ने निकायको रुपमा स्थापित गर्न आग्रह गरे । बेलायतको प्रेस काउन्सिलको संरचनागत अभ्यासको उदाहरण दिदैँ उनले राज्य र पत्रकारबिचको सन्तुलन कायम गर्न पनि सो विधेयकको संरचना स्वायत्त हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले मिडिया काउन्सिल पत्रकारको न्यायलय जस्तै हुने भएकाले यसको मर्यादित भन्दा स्वनियमनमा अभिप्रेरित गर्नुपर्ने धारणा राखे । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकारका लागि बनाउन लागिएको विधेयकलाई पत्रकारले अपनत्व लिने किसिमको बनाउनुपर्नेमा जोड दिए ।

छलफलमा प्रेस चौतारीका महासचिव हिरामान लामा, पुर्व अध्यक्षहरु, गणेश बस्नेत, राजेन्द्र अर्याल, सार्वजनिक सेवा प्रशारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टलगायतको उपस्थिति थियो ।

यसैबीच आजै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक, २०८० लाई आमसञ्चार परिषद् विधेयक नामकरण गर्नेमा सहमति भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *