विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं। नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ। गत जेठ १५ गते नेपालमा मनसुन भित्रिएको हो।

यसपाली सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिए पनि देशभर त्यसअनुसार वर्षा हुन सकेको छैन। यद्यपि विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। रसुवामा भने भारी वर्षा नै नभई गत असार २५ गते भीषण बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो। देशभर मनसुनपछि विपद्सहितका घटनामा ७२ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन्।

यस वर्ष मनसुन सुरु भएयता विपद्जन्य घटनाबाट बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। बागमती प्रदेशमा मात्रै विपद्जन्य घटनामा १६ जनाको मृत्यु भएको छ। सत्र जना बेपत्ता छन्। मनसुनजन्यसहित बागमती प्रदेशमा भएका विपद्जन्य २३१ घटनामा ६२ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता, उपसचिव शान्ति महतले जानकारी दिए।

उपसचिव महतका अनुसार कोशी र लुम्बिनी प्रदेशमा १३/१३ जनाको मृत्यु भएको छ। यो दुई महिनाको अवधिमा कोशीमा ३०० र लुम्बिनीमा १६२ विपद्जन्य घटना भएका थिए। ती घटनामा परेर कोशीमा ५० र लुम्बिनीमा ४५ जना घाइते भएका छन्। मधेस प्रदेशमा १५८ घटनामा ६ जनाको मृत्यु, एक जना बेपत्ता र २० जना घाइते भएका थिए भने गण्डकी प्रदेशमा १०५ घटनामा १० जनाको मृत्यु र २६ जना घाइते भएका थिए।

उपसचिव महतका अनुसार कर्णाली प्रदेशमा १२८ घटनामा आठ जनाको मृत्यु, एक जना बेपत्ता र ४३ घाइते तथा सुदूरपश्चिम प्रदेशमा १६२ घटनामा ६ जनाको मृत्यु र ५७ जना घाइते भएका थिए। सातै प्रदेशमा मनसुनबाट दुई हजार ९३८ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *