काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टङ्क बाराकोटीले नेपाल सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्य राखेको बताएका छन् ।
नेपालका प्रसूति केन्द्रहरूमा मातृ तथा नवजात शिशु हेरचाहको लागि सेवा उपलब्धता र तयारीसम्बन्धी चौधरी फाउन्डेसनले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा ग्रामीण क्षेत्रसम्म विस्तारका लागि थप जनशक्ति, उपकरण र पूर्वाधारको आवश्यक रहेको बताए । उक्त अध्ययनबाट प्राप्त सुझाव आगामी नीति र योजना बनाउँदा उपयोगी हुने उनको भनाइ थियो ।
कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा विवेकलाल कर्णले स्वास्थ्य क्षेत्रमा पनि सार्वजनिक निजी साझेदारीअन्तर्गत गरिएका यस्ता कार्यले सरकारले हासिल गरेको लक्ष्य पूरा गर्न सहज र प्रभावकारी हुने बताए । चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले आफूहरुले शिक्षा र स्वास्थ्यका क्षेत्रमा विभिन्न काम गरिरहेको अवगत गरउँदै मातृ तथा नवजात स्वास्थ्यका क्षेत्रमा अध्ययनले औँल्याएका सुझाव कार्यान्वयनका विषयमा आगामी दिनमा थप काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्ययनका नेतृत्वकर्ता डा खेम पोखरेलले अध्ययन विधि, अध्ययनका क्रममा देखिएका विषय र सुधार गर्नुपर्ने विषयका बारेमा जानकारी गराएका थिए । नेपालले मातृ तथा नवजात शिशु स्वास्थ्यमा उल्लेखनीय प्रगति गरेको छ । सन् २०१६ मा प्रतिएक लाख जीवित जन्ममा २३९ रहेको मातृ मृत्युदर सन् २०२२ मा घटेर १५१ पुगेको छ ।
त्यस्तै, सन् २००१ मा प्रतिएक हजारमा ३९ रहेको नवजात शिशु मृत्युदर सन् २०२२ मा घटेर २१ पुगेको सरकारी तथ्याङ्क छ ।
नेपालभर दुई हजार ८४८ प्रसूति केन्द्रहरू छन्भने त्यसमा दुई हजार ८३१ सञ्चालनमा छन् । यी केन्द्रहरूले प्रसूतिपूर्व हेरचाह, सामान्य प्रसूति, प्रसूतिपूर्व हेरचाह, र आधारभूत नवजात शिशु सेवाहरू प्रदान गर्छन् । अध्ययन प्रतिवेदनमा ४५ जिल्लाका २२२ प्रसूति केन्द्रहरू समेटिएको छ ।
