काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आउँदो शुक्रबार बस्ने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले उक्त एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन्।
सापकोटाका अनुसार, स्थायी कमिटी बैठकका मुख्य एजेन्डाहरूमा पार्टी अभियानलाई निरन्तरता दिने, संगठनलाई बलियो बनाउने, र समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषयहरू तय भएका छन्। स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक विषयमा ब्रिफिङ गर्ने पनि सापकोटाले जानकारी दिए।
उनले भने, ‘आजको बैठकबाट शुक्रवार बस्ने स्थायी कमिटीको बैठकका एजेन्डा तय गरिएका छन्। कमिटीको बैठकमा पार्टी हेडक्वार्टरको तर्फबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ। त्यसपछि हाम्रो पोखरा आएर रोकिएको अभियान सञ्चालनको बारेमा छलफल हुनेछ। र त्यस्तै केन्द्रीय समितिको बैठकको मिति तय गर्नेबारे छलफल हुनेछ।‘
सापकोटाले समाजवादी मोर्चाका बैठकहरू पनि बसिरहेको र केही समय सुस्ताएको जस्तो भए पनि त्यसलाई सक्रिय बनाउने कुरामा पनि स्थायी कमिटी बैठकले छलफल गर्ने बताए। स्थायी कमिटी बैठकबाट संगठन निर्माण, नेताहरूको कार्यविभाजन लगायतका प्रस्तावहरू पारित गरिने पनि उनले जानकारी दिए।
