काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाउने प्रस्ताव पारित गरेको छ।
पार्टीको अनुशासन समितिले पेस गरेको उक्त प्रस्तावले बहुमत सदस्यहरू सहभागी भएको भेलाले पारित गरेको संयोजक रामलाल डंगौरा थारूले बताए। श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी अध्यक्षबाट हटाएको हो।
त्यस्तै बैठकले टीकापुरमा भएको पार्टीको पहिलो अधिवेशनमा सर्वसम्मत भएका २०१ जना केन्द्रीय सदस्यको अद्यावधिक गर्नका लागि निर्वाचन आयोगमा सूची बुझाउने निर्णय गरेकाे छ। टीकापुर महाधिवेशनको विषय भने सर्वोच्च अदालतमा विचाराधीन छ।
विवादित अडियो प्रकरणमा मुछिएपछि अध्यक्ष रञ्जिताले स्वास्थ्यको कारण देखाउँदै पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहकको जिम्मेवारी सुम्पिएकी थिइन्। त्यसलगत्तै रेशम पक्षधरको बुहमत संस्थापक केन्द्रीय सदस्यको बैठकले अध्यक्ष रञ्जिताप्रति खेद प्रकट गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अध्यक्ष रञ्जिताले भने भेलाको कुनै औचित्य नरहेको बताउँदै आएकी छन्। उनले रेशम पक्षले गरेको भेलालाई अवैधानिक दाबी गर्दै आएकी छन्।
