मुख्यमन्त्रीले मार्गप्रशस्त नगरे प्रक्रिया अपनाएर बिदा गर्छौँः नेता बानियाँ

काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका इन्द्रबहादुर बानियाँले लोकतन्त्रमा आन्तरिक तथा बाह्य संघर्षहरू स्वाभाविक भएको बताएका छन्।

लोकतन्त्रमा दलका नेताले प्रभावकारी रूपमा कार्य सम्पादन नसके पार्टी कमजोर हुन सक्ने भएकाले नेतृत्व परिवर्तनको आवश्यकता पर्ने उनको भनाइ छ। बानियाँले पार्टीभित्रको विश्वासलाई मजबुत बनाउने उद्देश्यले कांग्रेसभित्र अहिले आन्तरिक प्रतिस्पर्धा भएको बताए।

उनले बहादुर सिंह लामा नेपाली कांग्रेसको संसदीय दलको नेताका हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै अहिले दलका नेताको हैसियत समाप्त भइसकेकोले मार्गप्रसस्त गर्नुपर्ने जिकिर गरे। मार्गप्रशस्त गरे परिस्थिति सहज ढंगले अघि बढ्ने तर त्यसो हुन नसके लोकतान्त्रिक अभ्यासअनुसार प्रक्रिया अपनाएर मुख्यमन्त्री लामालाई बिदा गरिने उनले बताए।

त्यस्तै मुख्यमन्त्री लामाले संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै आधार नरहेको जिकिर गरे। उनले आफू संविधानको भावना अनुसार अघि बढ्ने बताए। आफू नेतृत्वको सरकारविरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने उनको तर्क छ।

यसअघि संसदीय दलमा लामाविरुद्ध असन्तुष्टि बढ्दै गएपछि गत शुक्रवार अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। मत विभाजनमा लामाको विपक्षमा २२ मत परेको थियो भने पक्षमा १५ मत मात्रै परेको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *