संसदीय दलको नेता फेर्न संख्या पुगेको छैन, अहिले हतार गर्दिनँः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी संसदीय दलको नेता फेर्नका लागि संख्या नपुगेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज (बुधबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय दलको नेता फेर्नका लागि अहिले हतार नगर्ने बताएका हुन् । संसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्‍याउनुपर्ने कुरा महत्वपूर्ण रहेको उनले बताए । उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रका विषयमा गम्भीर प्रश्न उठेको समेत बताए ।

नेता डा.कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । उनले सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताए । कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमतिमा एक वर्षको अवधिमा एउटा पनि बुँदा अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

साथै, अहिलेका मन्त्रीहरु घुस प्रकरणमा जोडिएको विषय उल्लेख गर्दै उनले नैतिकता विनाको राजनीति भइरहेको बताए । उनले नैतिकता विनाको राजनीति सधैं धरापमा पर्ने बताए ।

साथै, अहिले संवैधानिक परिषद् (काम कर्तव्य र अधिकार) सम्बन्धी ऐनमा गर्न लागिएको संशोधन एकदमै खतरनाक रहेको उनको भनाइ छ । उक्त विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले फिर्ता पठाएकोमा उनले गम्भीर चासो व्यक्त गरे । संवैधानिक परिषद् सम्बन्धी ऐनमा ५० प्रतिशत सदस्यको उपस्थितिमा बैठक सञ्चालन गर्न सकिने र ५० प्रतिशतको बहुमतले संवैधानिक निकायमा नियुक्ति गर्न सकिने व्यवस्था रहेको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख गरी छ जना रहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *