काठमाडाैं । सांसदहरुले नेपालको हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिने गरि कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि छलफलका क्रममा संशोधनकर्ता सांसदहरुले नेपालको हवाई सेवालाई इयुको कालोसूचीबाट हटाउने गरि संस्थागत सुधार गर्न आवश्यक कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा संशोधनकर्ता सांसद माधव सापकोटाले नेपालको हवाई क्षेत्रको संस्थागत सुधारका बिषयमा स्पष्ट हुन जरुरी रहेको बताए । उनले हवाई क्षेत्रमा दुई निकायको परिकल्पना गर्दा सेवाको स्तरमा समेत सुधार हुनुपर्ने धारणा राखे । सापकोटाले अन्तराष्ट्रिय मान्यताका बिषयमा नेपाललाई भएका व्यवधान हटाउन विधेयकले योगदान गर्नुपर्ने बताए ।
त्यस्तै संशोधनकर्ता सांसद शिशिर खनालले बिमानस्थल, बिमानस्थल क्षेत्र र उपलव्ध सेवा सुविधाको सुरक्षाका साथै सेवा गुणस्तर र दक्षतालाई प्राथमिकता दिदै अधिकतम आर्थिक लाभ र सदुपयोग हुने गरि प्रयोग गर्न दिनुपर्ने सुझाव रहेको बताए ।
