काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतामा भएको आस्था जोगाउन धार्मिक क्षेत्रहरुको संरक्षण गर्नुपर्ने बताएका छन्।
भक्तपुरको कलममसीमा १३औं नागपञ्चमी मेला तथा २७ फिट लामो कालिनागको विशेष रुद्री पूजा कार्यक्रममा उपप्रधानमन्त्री सिंहले धार्मिक क्षेत्रको संरक्षणमा जोड दिएका हुन्।
चाँगुनारायण नगरपालिका ८ मा पर्ने कलममसीमा ७ फिट लामो कालिनागको मन्दिर छ। सोही स्थानमा श्री कलममसी कल्पेश्वर महादेव तथा कालिका देवी संरक्षण समाजले १०८ फिट उचाईको महादेवको मन्दिर बनाउँदैछ। उपप्रधानमन्त्री सिंहले समय लागेपनि सो मन्दिर छिटै निर्माण हुने विश्वास व्यक्त गर्दै त्यसका लागि आफूले सकेको सहयोग गर्ने बताए।
नागपूजाको पावन अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन पाउँदा खुशी लागेको बताए। उनले धार्मिक क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सके कालोमसी क्षेत्र धार्मिक पर्यटनको केन्द्र बन्ने बताए।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले अहिले विभिन्न स्थानमा खडेरी परेको भन्दै त्यसबाट बचाउन वातावरण जोगाउनेतर्फ सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा पनि जोड दिए।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले मन्दिर निर्माणका लागि सहयोग गरेको भन्दै उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिए। विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिर देखि कल्पेश्वर क्षेत्रसम्म धार्मिक हिसावले महत्वपूर्ण स्थल रहेको भन्दै यसलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्नेगरि आफूले काम गरिररहेको बताए।
कार्यक्रममा भत्तपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, उपत्यका विकास प्राधिकरणकी आयुक्त जानुका ढकाललगायत सहभागी थिए।
