गाजामा इजरायलद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन : अष्ट्रेलियाली प्रधानमन्त्री

क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले गाजामा जारी मानवीय संकटबारे गहिरो चिन्ता व्यक्त गर्दै इजरायललाई अन्तर्राष्ट्रिय कानुनअनुसार सहायता पु¥याउन अनुमति दिन र सबै नागरिकको मानवअधिकारको संरक्षण गर्न आग्रह गरेका छन् ।

अष्ट्रेलियन ब्रडकास्टिंग कर्पोरेशन (एबीसी) मा आइतवार दिएका अन्तर्वार्तामा उनले भने, ‘खाद्य सामग्री रोक्नु, पानी र औषधीजस्ता आधारभूत आवश्यकतामा पहुँच नदिनु – यस्ता कार्यहरू मानवताको सामान्य मूल्य र अन्तर्राष्ट्रिय कानुन दुवैको उल्लंघन हुन् । सबै पक्षले जिम्मेवार र सहानुभूतिपूर्ण व्यवहार देखाउनुपर्छ ।’

प्रधानमन्त्री अल्बानीजले जोड दिँदै भने, ‘हामी सबैका लागि प्रत्येक निर्दोष ज्यान महत्त्वपूर्ण हुन्छ — चाहे त्यो इजरायली होस् वा प्यालेस्टिनी । द्वन्द्वका कारण बालबालिका भोकै छन्, आम सर्वसाधारण अत्यन्त कष्टमा छन् । यो स्थिति दुःखद छ ।’

शुक्रवार सार्वजनिक गरेका वक्तव्यमा उनले गाजाको अवस्थालाई ‘विश्वकै सबैभन्दा भयावह मानवीय संकटहरूमध्ये एक’ भनेर वर्णन गरेका छन् र मानवअधिकार संस्था तथा सहायता संघसंस्थाहरूलाई निर्बाध रूपमा राहतकार्य गर्न दिन आग्रह गरेका छन् ।

उनले थप भने, ‘इजरायलले अन्तर्राष्ट्रिय दायित्वअनुसार काम गर्नुपर्छ । संयुक्त राष्ट्रसंघ तथा अन्य सहायता संस्थाहरूले सुरक्षित र स्वतन्त्र रूपमा आफ्नो कार्य सम्पादन गर्न पाउनुपर्छ । कुनै पनि जबर्जस्ती विस्थापन योजना तत्काल बन्द गरिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *