पोखरा । पोखराको लेकसाइड क्षेत्रमा गैरकानुनी रुपमा विदेशी मुद्रा सटही कारोबार गर्दै आएका तीन जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई कास्कीको पोखरा महानगरपालिका–१७ पार्दी बिरौटाबाट पक्राउ गरिएको हो।
पक्राउ परेकामध्ये दुई जना मनी एक्सचेन्ज सञ्चालक तथा एक जना रेष्टुरेन्ट व्यवसायी रहेको खुलेको छ। उनीहरू वर्षौंदेखि बिना अनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा महुमुद्दिन एम अहमद वर्ष ४५ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ का स्थायी बासिन्दा हुन्। उनी रुपन्देही र कास्कीमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए।
यसैगरी राजकुमार बुढाथोकी वर्ष ४५ मा झापा दमक–४ का स्थायी बासिन्दा, हाल पोखरा–६, बैदाममा बसोबास गर्दै ‘हिलारी मनी चेन्जर’ सञ्चालन गर्दै आएका थिए। उनले करिब २० वर्षदेखि मनी एक्सचेन्जको आडमा अवैध सटही गर्दै आएको कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए।
यसैगरी खेमराज पौडेल वर्ष ४३ का कास्कीको पोखरा–१९, पुरनचौर बसोबास गर्ने उनी लेकसाइडस्थित ‘सगरमाथा मनी चेन्जर’का सञ्चालक हुन्। उनले १४ वर्षदेखि यो कारोबार गर्दै आएको खुलेको छ।
छापामारीको क्रममा प्रहरीले ठूलो मात्रामा विदेशी र नेपाली नोट समेत बरामद गरेको छ। प्रहरीका अनुसार बरामद भएका मुद्राहरू यस प्रकार छन्।
अमेरिकी डलर – १०० दरका १९६ थान, युरो ५०० दरका ३ थान, युरो २०० दरको नोट ८ थान, युरो १०० दरको नोट १ थान बरामद गरेको छ।
यसैगरी नेपाली रुपैयाँ १००० दरका ४ हजार ३ सय ७३ थान रु. ४३,७३,०००, नेपाली रुपैयाँ १०० दरको नोट ७ थान रु. ७०० बरामद गरेको छ।
प्रहरीका अनुसार हालको विनिमय दर अनुसार यी सबै नोटहरूको कुल मूल्य करिब रु. ७५ लाख ९६ हजार ९ सय बराबरको हुन आउँछ।
उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम कसूर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी राखेको जनाएको छ।
घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा कारोबारको खोजी पनि भैरहेको जनाइएको छ। यसैगरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले ५८ बर्षे जङ्गे सार्कीलाई समेत सार्वजननिक गरेको छ।
पोखरा महानगरपालिका वडा नं. २७ रिठ्ठेपानी शान्ति खहरे टोलमा बसोबास गर्ने उनलाई आइतबार पत्रकार सम्मेलनमार्फत उनलाई समेत सावर्जनिक गरिएको हो।
