काठमाडौं। राष्ट्रिय संग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका तीनवटा प्राचीन कलाकृति शनिबार इतुम्बहालस्थित भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरेको छ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संग्रहालय प्रमुख अरुणा नकर्मीले ती सम्पदाहरू महाविहार संरक्षण समाजलाई औपचारिक रूपमा हस्तान्तरण गरिन्।
हस्तान्तरण अघि संग्रहालय प्रमुख नकर्मी, संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्य, उपाध्यक्ष रमेशमान शाक्य, सचिव रत्नसम्भव शाक्य तथा काठमाडौं महानगरपालिका–२४ का सदस्य रत्नाकर बज्राचार्यले हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
फिर्ता गरिएका ती कलाकृतिहरूमध्ये ३०० वर्ष पुरानो चिन्तामणि लोकेश्वरको थांका, ५७५ वर्ष पुरानो गगनसिंह भारोया र उनकी पत्नीसहितको थांका (पौभा), र ३२१ वर्ष पुरानो केशचन्द्रसहितको भैरव समावेश छन्। यी सम्पदा वि.सं. २०३७ साल भदौ २९ गते चोरी भई अमेरिका पुगेका थिए।
कलाकृति फिर्ता ल्याउने अभियानमा अमेरिकास्थित नेवाः गुठीका अध्यक्ष विजयमान सिंह र पुरातत्व विभागबीच समन्वय गरिएको थियो। कलाप्रेमी स्टेफन एककार्डले सिकागोस्थित आर्ट इन्स्टिच्युट अफ सिकागोमा ती कलाकृति प्रदर्शनीमा रहेको देखेपछि नेपाल पक्षलाई जानकारी गराएका थिए। सो आधारमा ती सम्पदा सन् २००३ मा चोरी भएर अमेरिका पुगेको पुष्टि भएको थियो। दुई दशक लामो प्रयासपछि ती कलाकृति फागुन १९ गते नेपाल ल्याइ राष्ट्रिय संग्रहालयमा सुरक्षित राखिएको थियो।
हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नेपालका प्राचीन सम्पदाहरू फिर्ता ल्याउने कार्यमा संलग्न सबैलाई धन्यवाद दिंदै अब यस्ता सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले तीनै तहका सरकार सम्पदा संरक्षणमा सक्रिय हुनुपर्ने धारणा राखे। यस्ता सम्पदाहरूले भावी पुस्तालाई इतिहास बुझ्न मद्दत पुग्ने उनको भनाइ थियो।
काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले सम्पदा फिर्ता गराउने कार्यमा लागिपरेका अभियन्ताहरूको सराहना गर्दै महानगरबाट संरक्षणमा आवश्यक सहयोग रहने प्रतिबद्धता जनाइन्।
संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले महाविहारमै एक सङ्ग्रहालय स्थापना गरी कलाकृति सुरक्षित राख्ने व्यवस्था मिलाइएको जानकारी दिए। पटक–पटकको प्रयासपछि सम्पदा फिर्ता ल्याई पुनः आफ्नै स्थानमा पुनःस्थापना गर्न पाउँदा गर्व महसुस भएको उनले बताए।
संग्रहालय प्रमुख अरुणा नकर्मीले राष्ट्रिय सम्पदाको पुनःस्थापना गर्न पाउनु सुखद भएको उल्लेख गर्दै, यस्ता सम्पदाको दीर्घकालीन संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक हुने धारणा व्यक्त गरिन्।
