नेपालका लागि एआई विलासिता होइन, समानता, रुपान्तरण र न्यायको साधन होः सञ्चारमन्त्री गुरुङ

साङ्घाई। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआईका उपलब्धिको पहुँचमा समानताको वकालत गरेका छन्।

चीनको साङ्घाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सम्मेलनमा सम्बोधन गर्दै मन्त्री गुरुङले भने, ‘एआईले हाम्रो अर्को पुस्तालाई सशक्त बनाउनुपर्छ। हामी विश्वव्यापी रूपमा एआई साक्षरता र नैतिक नवप्रवर्तन प्रवर्धन गर्न विश्व एआई शिक्षा कोषका लागि आह्वान गर्छौँ।’

उनले एआईका उपलब्धिमा सबैले लाभ लिनुपर्नेमा जोड दिए। उनले भने, ‘एआईका उपलब्धिमा सबैले लाभ लिनुपर्छ।’ उनले ओपन मोडल र डेटा सेट प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह समेत गरेका छन्।

विश्व कृत्रिम बौद्धिकता सम्मेलन २०२५ र विश्वव्यापी एआई शासनसम्बन्धी उक्त उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पारदर्शिता, समावेशिता, जवाफदेहिता र एआईलाई प्रवर्धन गर्ने संयुक्त राष्ट्रसंघको नेतृत्वको चार्टरलाई समर्थन गर्ने बताएका छन्।

सम्बोधनका क्रममा मन्त्री पृथ्वी सुब्बा गुरुङले एआईमा नेपालको दृष्टिकोण, समावेशी तथा मानव–केन्द्रित विकासका लागि एआई रहेको बताए। उनले भने, ‘नेपाल डिजिटल छलाङको सीमामा उभिएको छ। अन्तिम स्वीकृतिको चरणमा रहेको हाम्रो राष्ट्रिय एआई नीतिले हाम्रा राष्ट्रिय प्राथमिकतासँग तारतम्य मिलेको समावेशी र नैतिक एआई इकोसिस्टमको परिकल्पना गरेको छ।’

एआईसम्बन्धी उक्त विश्व सम्मेलनमा मन्त्री गुरुङले नेपालको एआई लक्ष्यका बारेमा स्पष्ट पारे। नेपालले रणनीति र अन्तर्राष्ट्रिय सहकार्यका लागि राष्ट्रिय एआई केन्द्र स्थापना योजनासमेत उनको भनाइ छ। अग्रणी विश्वविद्यालयमा एआई उत्कृष्टता केन्द्र र सबै प्रदेशमा नवप्रवर्तन हबहरू सुरु गर्ने, शासन, सार्वजनिक सेवा, विपद् प्रतिक्रिया, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवर्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य बनाएर हाम्रा युवालाई एआई युगका लागि तयार गर्ने लक्ष्य रहेको बताए।

‘नेपालका लागि एआई विलासिता होइन, बरु समानता, रूपान्तरण र दुर्गम क्षेत्रमा टेलिमेडिसिनदेखि हाम्रो नागरिक एपमार्फत रियल टाइममा नागरिक सेवा दिनेसम्मको न्यायको साधन हो। हामी साझेदारी, डेटा पूर्वाधार र एआई सीप निर्माण गरिरहेका छौँ’, मन्त्री पृथ्वी सुब्बा गुरुङले भने, ‘परम्परागत विकासका अवरोधलाई नाघेर अगाडि बढ्न सकियोस् र प्रविधिले सबैको सेवा गर्न सुनिश्चित गर्न सकियोस्।’

करिब एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा नीति निर्माताको उक्त सम्मेलनमा सम्बोधन गर्दै मन्त्री गुरुङले भने, ‘एआईको क्रममा मानवता बिना प्रविधि अराजकता हो। नैतिकता बिना नवप्रवर्तन जोखिम हो भन्ने हामीले मनन् गर्नुपर्छ। नेपालले खुला सहकार्य, एआईको जिम्मेवार विकास र नैतिक शासनप्रति आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउँछ। हामी सबै राष्ट्र( ठुला र सानालाई निष्पक्ष, सुरक्षित र रूपान्तरणकारी एआई भविष्यको निर्माणमा सहभागी हुन आह्वान गर्छौं। एआईले विशेषाधिकार प्राप्त केहीलाई होइन सम्पूर्ण मानव जातिको उत्थान गरोस् भन्ने सुनिश्चित गर्नु हाम्रो साझा चुनौती हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *