रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका–१ बागमती नदी (नुनथर)मा जल भर्ने क्रममा डुबेर बेपत्ता भारतीय बालकको शव फेला परेको छ।
बोलबमका लागि जल भर्ने क्रममा शुक्रबार साँझ नदिमा डुबेर बेपत्ता भएको बालकको शव शनिबार फेला परेको प्रहरीले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर र सशस्त्र प्रहरीको संयुक्त टोलीले बालकको खोजी गर्ने क्रममा शव फेला परेको रौतहट प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले बताए।
भारत बिहार सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठिया बस्ने शिवशंकर साहका १४ वर्षीय छोरा पवन कुमार साहको शव फेला परेको उनले जानकारी दिए।
बालकको घटनास्थलदेखि करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बालकको शवलाई परिवारलाई जिम्मा दिएको र उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान भैइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ।
