काठमाडौं । युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै दिनसम्म केही नखाई भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसंघको खाद्य सहायता निकायले शुक्रबार जनाएको छ । उक्त निकायले गाजाको अवस्था ‘अझै डरलाग्दो र चिन्ताजनक स्तरको’ भएको चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले यसअघि नै गाजामा भोकमरीको गम्भीर खतरा रहेको उल्लेख गरिसकेको थियो । इजरायलको कारबाहीको विश्वभर तीव्र आलोचना भइरहेका बेला गाजामा अत्यावश्यक राहत सामग्री पुग्न नपाउँदा अवस्था भयावह भएको हो ।
डब्लुएफपीको विज्ञप्तिमा भनिएको छ, ‘तीन जनामध्ये झन्डै एक जना मानिसले धेरै दिनदेखि केही पनि खान पाएका छैनन् । कुपोषण तीव्र रूपमा बढिरहेको छ, जसअनुसार झन्डै ९० हजार महिला र बालबालिका तुरुन्तै उपचारको खाँचोमा छन् ।’
