काठमाडौं । विद्युत् र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने फोहर व्यवस्थापनमा कानुनी व्यवस्थाको खाँचो औँल्याइएको छ ।
विद्युतीय सामग्री उत्पादक कम्पनी र आयातकर्तालाई नै त्यस्ता सामग्री बिग्रिएपछि उत्पादन हुने फोहर व्यवस्थापनमा जिम्मेवार बनाउने कानुनी प्रावधान आवश्यक रहेको डोको रिसाइक्लर्स प्रालिका प्रमुख कार्यकारी निर्देशक पंकज पञ्जियारको तर्क छ ।
उत्पादककर्ताले बजारमा आफ्ना उत्पादन पठाएपछि निस्कने फोहर व्यवस्थापनको जिम्मेवारी सिद्धान्ततः सोही कम्पनीकै भएकाले बाध्यात्मक कानुनी व्यवस्थासहित उचित प्रबन्ध मिलाउन सरकारलाई डोको प्रालिको सुझाव छ । विद्युतीय मात्र नभई प्लास्टिकजन्य फोहर मानव स्वास्थ्य र वातावरणका हिसाबले हानिकारक मानिन्छ ।
कुनै प्लास्टिक उद्योगले नेपालमा पाँच हजार टन उत्पादन गरेमा त्यसको पुनःप्रशोधन वा नष्ट गर्नेसम्मको जिम्मेवारी सोही कम्पनीको दायित्व रहने कानुनी प्रावधान हुनुपर्ने वातावरण संरक्षणकर्मीको धारणा छ । उचित व्यवस्थापनको जिम्मा उत्पादक कम्पनीलाई दिँदा ठूलो दायित्व नपर्ने उनीहरुको भनाइ छ ।
विद्युतीय फोहरबाट वातावरण संरक्षणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा कानुनी प्रावधानसहित व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था गर्न सकिएमा वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ । डोको रिसाइक्लर्सलगायत कम्पनीले ‘नयाँ धारणा, स्वच्छ सपनाः फोहर छुट्याउने हाम्रो चाहना’ नाराका साथ फोहर व्यवस्थापन अभियान सञ्चालन गर्दै आएका छन् ।
नेपालमा यस विषयमा बहस सुरु भए पनि त्यसले कानुनीस्वरुप पाउन नसकेकाले अझै चुनौतीपूर्ण रहेको डोकोका निर्देशक पञ्जियारले बताए । हालसम्म आफूखुसी यस्ता कार्यक्रम गरिए पनि कानुनी प्रावधानसहितको आवश्यक प्रबन्ध मिलाउने दायित्व सरकारको भएको उनको भनाइ छ ।
संस्थाले पोखरामासमेत अभियान सञ्चालन गरेको छ । डोकोले फोहर सङ्कलन गरी भक्तपुरको सानोठिमी र सल्लाघारीस्थित प्रशोधन केन्द्रबाट विद्युतीय फोहर छुट्याएर व्यवस्थापन गर्दै आएको छ । ती फोहरबाट आम्दानीसमेत गरिएको छ ।
विसं २०७४ देखि विद्युतीय फोहर सङ्कलन गर्दै आएको उक्त संस्थाले वातावरण संरक्षणमा हानिनोक्सानी नपुग्ने गरी फोहर विसर्जन गर्दै आएको छ । विद्युतीय फोहर प्रतिकिलो १५ का दरले सङ्कलन गरी पुनःप्रयोग गर्न सकिनेलाई उद्योगमै पठाउने गरिएको छ ।
सो संस्थाले सन् २०१३ मा काठमाडौं उपत्यकाबाट ३५० टन विद्युतीय फोहर सङ्कलन र प्रशोधन तथा एक हजार ६०० टन काजग, सिसा, फलामजस्ता फोहर व्यवस्थापन गरेको जनाएको छ । त्यसबाट ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालमा १० वर्षअघि १३ हजार टन विद्युतीय फोहर रहेकामा हाल वृद्धि भइ ४२ हजार टनसम्म पुगेको संस्थाको अनुमान छ ।
डोकोबाहेक अन्य कम्पनीले हेटौँडा र विराटनगरमा विद्युतीय फोहर सङ्कलन सुरु गरेको छ । प्राक्टिकल एक्सन नेपाल प्रोजेक्ट म्यानेजर रवीन श्रेष्ठका अनुसार विद्युतीय चुलोको प्रयोग अवधि सकिएपछि त्यसको व्यवस्थापनका लागि डोको रिसाइकल र हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा वातावरणमैत्री फोहर विसर्जन र पुनःप्रयोग अघि बढाइएको छ ।
नेपाल फूलबारी वेष्ट थ्रि आर सोलुसन कन्ट्रोल सर्भिस प्रालिका सूचना अधिकृत अर्जुन खत्रीले प्रत्येक घरबाट सङ्कलित फोहरबाट जैविक र अजैविक छुट्याएर व्यवस्थापन गर्ने गरिएको जानकारी दिए । सङ्कलित फोहरमध्ये ६० प्रतिशत जैविक र त्यसमध्ये पनि ३५ फोहर पशुजन्य आहारका रुपमा प्रयोग गर्ने गरिएको छ ।
