थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

कञ्चनपुर । कञ्चनपुरका थारु समुदायका मौलिक पहिचान बोकेका छतरी(छाता) हराउँदै जान थालेको छ ।

थारु समुदायको खेत-खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जानथालेको छ । जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गर्छन् ।

‘बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा गोठाला जाँदा छतरी आवश्यक वस्तु हुन्थ्यो’, उनले भने, ‘बलियो पहाडी बाँस र महुराइन ९मालु०को पात प्रयोग गरी बनाइने छतरी पानी चुहिन नदिने उत्कृष्ट घरेलु प्रविधि थियो ।’

बूढेसकाल लाग्दासम्म परम्परागत रूपमा घरमै निर्माण गरेका छतरी ओढेको सम्झना उहाँलाई छ । छतरीमा एक थोपा पनि पानी चुहिँदैनथ्यो, हलुका पनि हुन्थ्यो, तर अब ती दिन सपनाजस्ता भएको उनी सुनाउछन् । छतरी थारु समुदायका लागि एक उपयोगी वस्तु रहेको उल्लेख गर्दै उनले सांस्कृतिक चिनारीका रूपमा छतरीलाई लिइने गरेको बताउछन् ।

बाँसको चोयाले बुनेर महुराइन (मालु)को पातभित्र राखी बनाइने छतरी घाम र पानी दुवैबाट जोगाउने उपायका रूपमा रहेको उनले बताए । यी सबै आज प्रयोगबाट हराइसकेको उनले बताए ।

परम्परागत छतरीको तुलनामा बजारमा आधुनिक र सस्तो छाता रेनकोट सजिलै पाइने भएपछि परम्परागत सीप लोप हुन थालेको कलंकबहादुर चौधरी बताउछन् । बाँस र महुराइनको पात मुख्यरूपमा चुरे क्षेत्रका वनबाट सङ्कलन गरिन्थ्यो । तर अहिले वनभित्र अनुमति बिना प्रवेश गर्न नपाइने, पात टिप्दा झन्झट हुने, र कानुनी जटिलता हुने भएपछि छतरी बनाउने चलननै बन्द भएको उनको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *