काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेस अझै बलियो हुन नसकेको बताएका छन्।
शुक्रबार काठमाडौंमा स्व.दुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले काङ्ग्रेस लोकतान्त्रिक समाजवादी पार्टी भएपनि अझै बलियो हुन नसकेको बताएका हुन्।
उनले भने, ‘नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि व्यवहारमा सबै पार्टीहरु लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी भइसकेपछि, काम गर्न अलि समस्या भएपनि विस्तारै बानी पर्छ। पार्टी लोकतान्त्रिक समाजवादी पार्टी हो। तर अझै पनि त्यति बलियो भइ सकेका छैनौँ।’
अहिलेको संविधान एकदमै राम्रो भएपनि यो व्यवस्थामा बहुमत ल्याउनको लागि कुनै न कुनै पार्टीसँग मिल्नैपर्ने, सम्झौताहरु गर्नुपर्ने खालको अवस्था रहेको बताए।
उनले भने, ‘अहिलेको संविधान एकदमै राम्रो छ। तर यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ। बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने, सम्झौताहरु गर्नुपर्ने खालको अवस्था छ। आज संविधान सबैका लागि स्वीकार्य भएको छ, केही कुरामा संविधान संशोधन गर्नुपर्छ भन्ने आवाजहरु उठिरहेका छन्। त्यो स्वभाविक कुरा हो, आवश्यकता अनुसार संविधानको संशोधन हुन्छ नै।’
स्व. दुण्डिराज शास्त्री एकदमै विद्वान र सिद्धान्तमा एकदमै अडिक रहने मान्छे भएको भन्दै उनले सन्तुलित समाजवादको लागि धेरै लडाइ गरेको पनि उनको भनाई छ।
